पूर्व मन्त्री बस्नेतले गराइदिए सिन्धुपाल्चोकका सबै सक्रिय काङ्ग्रेस नेता कार्यकर्ताको कोरोना बिमा

  • 1.3K
    Shares
पूर्व मन्त्री बस्नेतले गराइदिए सिन्धुपाल्चोकका सबै सक्रिय काङ्ग्रेस नेता कार्यकर्ताको कोरोना बिमा

–रामचन्द्र दुलाल–

सिन्धुपाल्चोक, २५ जेठ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखापरेपछि यसलाई फैलिन नदिन गत चैत्र १२ गतेदेखि सिन्धुपाल्चोकका आम नागरिक, स्वास्थ्यकर्मी ,सुरक्षाकर्मी र सञ्चारकर्मीलाई स्वास्थ्य सुरक्षाका सामाग्री वितरणमा खटिरहनुभएको छ ।

अहिले उहाँ जिल्लामा स्वास्थ्यकर्मी ,सुरक्षाकर्मी, सञ्चारकर्मी, पार्टीका सक्रिय कार्यकर्ताहरुको म्यादी कोरोना बिमा गराउने अभियानमा जुट्नुभएको छ ।

पछिल्लो समय बस्नेतले सिन्धुपाल्चोकमा कार्यरत ६ सय १३ जना स्वास्थ्यकर्मीलगायतको म्यादी कोरोना बिमा गराइदिनुसक्नुभएको छ । यसैक्रममा नेता बस्नेतले नेपाली काङ्ग्रेसका भातृ, शुभेच्छुक संस्थाका नेता कार्यकर्ताहरुको म्यादी कोरोना विमा गराई दिने घोषणा गर्नुभएको छ ।

पछिल्लो समयमा भुसको आगो झै फैलिरहेको कोरोनाको माहामारीबाट आमनागरिकलाई बचाउन नेपाली काङ्ग्रेसका सिन्धुपाल्चोक जिल्लाभरका सबै वडा सभापतिहरु, काग्रेसबाट निर्वाचित वडाध्यक्षहरु, वडाध्यक्षका उमेद्वारहरु त्यसैगरी पार्टीका वडा निर्वाचित सचिवहरु सक्रिय कार्यकर्तासहित थप ६ सय ५१ जनाको कोरोना विमा गराइदिने बस्नेतले बताउनुभएको छ ।

यो अभियानले वडा तहदेखिनै काङ्ग्रेसलाई उच्च मनोबलका साथ सक्रियरुपमा जनताको सेवामा लाग्ने वातावरण बन्ने भएकोले यो अभियान अघि बढाएको बस्नेतको भनाई छ । उहाँले राष्ट्रवाणी डट कमसंग भन्नुभयो ‘ यो दोस्रो चरणपछि अबको तेस्रो चरणमा सिन्धुपाल्चोकभरका सुरक्षाकर्मीको पनि बिमा गराउनकालागि नाम संकलनको काम भइरहेको छ, उहाँहरुको पनि तुरुन्त म्यादी कोरोना बिमा गराइदिन्छु ।’