काठमाडौं, २२ जेठ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउन जारी छ । लकडाउन जारी भएपनि पछिल्लो समय उपत्यकामा सवारी चाप बढेको छ ।
गत चैत ११ गतेदेखि जारी गरिएको लकडाउनका कारण जनजीवन प्रभावित भएको छ । त्यसैले मानिसहरु लकडाउनको प्रवाह नगरी काममा निस्कदा उपत्यकाका मुख्य सडकहरुमा सवारी साधनको चाप बढ्दै गएको छ ।
त्यस्तै बिहीबारबाट केहि नीजि कार्यालय पनि खुल्न थालेका छन् भने काठमाडौंमा केहि पसलहरु खुलेका छन् ।
करिब ३ महिनादेखि जारी लकडाउनका कारण व्यवसाय धरासयी भएको भन्दै व्यवसायीहरु पसल खोल्न थालेका हुन् ।
काठमाडौंका मुख्य व्यापारीक केन्द्र न्यूरोड, कोटेश्वर, बौद्ध, भोटेबहाल, इन्द्रचोक लगायतका क्षेत्रका पसलहरु खुला भएका छन् ।
कतिपय व्यापारीले ग्राहकको तापक्रम नापेर र स्यानिटाइजर लगाउन दिएर मात्र पसलमा प्रवेश गराएका छन् ।
लामो समयसदेखि व्यवसाय बन्द हुँदा धेरै ठूलो समस्या परेको कारण पसल व्यवसाय खोल्न बाध्य भएको उनीहरुले बताएका छन् ।
राज्यलाई तिर्ने कर, घर भाडा, बैंकको ब्याजदर र कर्मचारीको तलव भत्ता समेत भुक्तानी गर्न समस्या भएका कारण पसल व्यवसायहरु खुला गर्नु परेको व्यवसायीहरुले बताएका छन् ।
बानेश्वर, मैतीदेवीलगायत क्षेत्रहरुमा विहानै पसल खोल्न पुगेका केही व्यवसायीहरुलाई भने प्रहरीले फर्काइदिएको थियो ।