प्रधानमन्त्रीद्वारा विज्ञहरुसँग परामर्श, ‘लकडाउन’काे स्वरूप परिवर्तन गर्न सरकारलाई सुझाब

प्रधानमन्त्रीद्वारा विज्ञहरुसँग परामर्श, ‘लकडाउन’काे स्वरूप परिवर्तन गर्न सरकारलाई सुझाब

काठमाडौं, २२ जेठ । कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा बन्दाबन्दीका अवस्थामा आर्थिक र सामाजिक गतिविधिलाई सहज बनाउन आर्थिक र स्वास्थ्य क्षेत्रका विज्ञहरुले सुझाव दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा विभिन्न क्षेत्रका विज्ञहरुले लकडाउन स्वरूप परिवर्तन गर्न, परीक्षण संख्या बढाउन, क्वारेन्टाइन र आइसोलेसनलाई व्यवस्थित पार्न र निजी क्षेत्रका स्वास्थ्य संस्थालाई पनि कोभिड–१९ परीक्षणका लागि खुला गर्न सुझाव दिएका हुन् ।

लकडाउन लम्ब्याउँदै लगे पनि सरकारले अपेक्षाकृत रूपमा परीक्षणको दायरा बढाउन एकातिर संक्रमणको जोखिम बढ्दै गएको, अर्कातिर जनताको आर्थिक–सामाजिक जीवन प्रभावित भएको भन्दै सहभागीले चिन्ता व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले हिजो बालुवाटारमा बोलाएर कोरोना नियन्त्रण, रोकथाम र उपचारको सम्बन्धमा विभिन्न क्षेत्रका व्यक्तिहरूसँग करिब ४ घन्टा परामर्श गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । बैंठकमा अधिकांशले अहिलेको लकडाउनको स्वरूपलाई परिवर्तन गर्नुका साथै परीक्षणको दायरालाई अझ बढाउँदै लानुपर्ने सुझाव दिएका थिए ।

विज्ञहरुले प्रधानमन्त्रीलाई लकडाउन नलम्ब्याई अघि बढ्न सक्ने योजनाको तयारी गर्नुपर्ने बताएका हुन् । करीब चार घण्टा चलेको छलफलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालसहित उच्च अधिकारी एवं अर्थ र स्वास्थ्यविज्ञ तथा सामाजिक अभियानकर्मी सहभागी रहनुभएको थियो ।

विज्ञहरुको सुझाव सुनेपछि प्रधानमन्त्री ओलीले महाव्याधि रोकथाम र नियन्त्रणको व्यवस्थापनमा सरकारी पक्षबाट केही कमजोर भएको स्विकार्दै त्यसलाई सुधार गर्ने बताउनुभयो ।