काठमाडाैं, १९ जेठ । नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठले विश्वव्यापी महामारी र संकटमा समेत प्राथमिकता स्पष्ट किटान गर्न नसकेको तथा जताततै रकम छरिएको भन्दै बजेटको आलोचना गर्नुभएको छ ।
संसदमा आर्थिक बर्ष २०७७ ७८ को बजेटमाथिको छलफलमा बोल्दै सांसद श्रेष्ठले महामारीबाट उत्पन्न बिशेष अवस्था र परिस्थितिको आंकलन अर्थमन्त्रीले गर्न नसकेको आरोप लगाउनुभयो । कोरोना भाइरसको महामारीका कारण संकटमा परेकाहरुको जीवन बचाउनु अहिलेको प्रमुख आवश्यकता रहेकोमा जोड दिदै सांसद श्रेष्ठले मानव जीवन बचाउन बजेटको यथेष्ट ध्यान नपुगेको बताउनुभयो ।
अर्थतन्त्रलाई चलायमान बनाउन उद्योगी व्यवसायीलाई लगानी गर, प्रशस्त कमाउ र राज्यलाई कर तीर भन्ने नीति सरकारको हुनुपर्नेमा उहाँले जोड दिनुभयो । सानाठूला उद्योग, व्यापार र व्यवसायलाई बचाउन बजेटमा उल्लेखित राहत प्याकेजले नपुग्ने भन्दै उहाँले राहत प्याकेज वढाउन माग गर्नुभयो ।
सांसद श्रेष्ठले दुरदर्शी सोच र नीतिकै अभावमा नेपालले समृद्धि र उन्नतिको अवसर गुमाउनुपरेको धारणा राख्नुभयो । सांसद श्रेष्ठले सकटलाइ अवसरमा बदल्न दुरदृष्टि र असल नीति आवश्यक पर्ने बताउनुभयो । विश्वका सम्पन्न विभिन्न मुलुकहरुको उदाहरण दिदै सांसद श्रेष्ठले १० बर्षमा नेपाललाई कायापलट गर्न सकिने प्रसस्त आधारहरु पेश गर्नुभयो । तर श्रम नीति, उद्योग नीति र लगानीमैत्री वातावरण तयार गर्न नसक्दा हामिले उन्नति गर्न सकेनौ सांसद श्रेष्ठले भन्नुभयो ।
ठूलठूला कृषि आयोजनाहरु संचालन गरेर रोजगारी सृजना गर्नुपर्ने,उर्जा उत्पादनमा जोड दिनुपर्ने र वाह्य लगानी आकर्षित गर्नसक्नुपर्नेमा श्रेष्ठको जोड थियो । शिक्षा र स्वास्थ्यको दायीत्व राज्यले नै लिनुपर्ने भन्दै सांसद श्रेष्ठले सरकारसग त्यो क्षमता नभएसम्म नीजिक्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने र सामुदायीक नीजि सहकार्यमै अघि बढ्नुपर्ने बताउनुभयो ।
बर्षेनी ७० हजार बिद्यार्थी अध्ययनकै लागी विदेश जानुपर्ने र अरवौरुपैया विदेशीने अवस्थाको अन्त्य गर्न नेपाललाई शिक्षाको हवकै रुपमा विकास गर्न सक्नुपर्ने सांसद श्रेष्ठको सुझाव थियो ।