नक्शा र मान्छेहरु

नक्शा र मान्छेहरु

दिनेशविक्रम थापा

यता,
देश भित्र नयाँ नक्शाको हल्ला चलेको छ
खुसी छ सत्ता र खुसि छन् मान्छेहरु
नयाँ नक्शामा टाँसिएर,
एक हूल मान्छेहरु फेसबुकका वालहरुमा
तछाडमछाड गरिरहेछन्
नेता, सीमाविद र पत्रकारहरु शिसाका पर्दाहरुमा
नक्शाकै गीत गाइरहेछन्
मानौं कि,
यो नै अन्तिम नक्शा हो
अब गर्न बाँकि केहि छैन
अब पाउन बाँकी पनि केहि छैन ।

उता,
नाकाहरुमा छिमेकमा टिक्न नसकेर
आफ्नो नक्शाभित्र,
पस्नेहरुको लामो लश्कर लागेको छ
निकै चिन्तित छ सत्ता,
कोरोना साम्राज्यवादको तीब्र विस्तारमा
र,
छेकेको छ सीमा नाका कांडेतारले
दु:खी छन् ,
असाध्यै दुखी छन नक्शाभित्र पस्न नपाउनेहरु
मानौ कि उनीहरु हाँरिरहेछन् ,
आफ्नै जीवन र आफनै देश ।

परदेशमा मान्छेहरु
पीडाको इनारबाट चिच्याइरहेका छन्
देशको नक्शाभित्र छिर्ने समय मागिरहेछन्
बाँचे पनि , मरे पनि देशको गीत गाउने तयारी गरिरहेछन् ।