–रबिन्द्र यादव–
नवलपरासी पश्चिम, १४ जेठ । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका–९ बेलाटारीमा गएराति धारिलो हतियार प्रहार गरी श्रीमतीले श्रीमानको हत्या गरेको आशंकामा प्रहरीले श्रीमतीलाई पक्राउ गरेको छ ।
अन्दाजी ३६ वर्षीय पार्वती देवी चौधरीले ३७ वर्षीय श्रीमान् धर्मेन्द्र चौधरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सुचना अधिकारी बिरेन्द्र थापाले बताए । स्थानीयका अनुसार उनलाई सोमबार नै हत्या गरि घर भित्र राखिएको हुन सक्ने जनाएको छ ।
स्थानीयले सुचना दिएको दस मिनेट भित्र एसपी अजय केसीको नेतृत्व तथा इलाका प्रहरीको संयुक्त टोलीले मंगलबार राति प्रहरीले घरमा छापा मार्दा घर भित्र धर्मेन्द्र चौधरीको लास भेटिएको थापाले बताए ।
घाँटीमा निल डाम, टाउकोमा चोट र दुवै हातको नाडी काटिएको अवस्थामा मृत फेला परेको र लाशको प्रकृति तथा घटना स्थल हेर्दा मृत्यु शंकास्पद देखिएको भन्दै अनुसन्धानका लागि श्रीमतीलाई पक्राउ गरिएको हो ।
मृत्यको शब पृथ्वी चन्द्र अस्पतालमा पोस्टमार्टम गरि परिवारलाई बुझाइएको जिल्ला प्रहरीले जनाएको छ । अहिले मृत्यका श्रीमती पार्वती लाई इलाका प्रहरी कार्यालय बेलाटारीमा राखेर अदालतको थप म्यादमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।