सरकारले पत्रकार राहत कार्यक्रम घोषणा गर्नुपर्छः सभापति देउवा

सरकारले पत्रकार राहत कार्यक्रम घोषणा गर्नुपर्छः सभापति देउवा

काठमाडौं, १३ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउनमा समाजका गतिविधि बन्द हुँदा बेथिती र भ्रष्टाचारसँगै अलोकतान्त्रिक गतिविधि बढ्दै जाने देखिएकाले सञ्चार माध्यमले खबरदारीको भूमिका बढाउन जरुरी रहेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियनको २९औ स्थापना दिवसको अवसरमा आयोजना भएको भर्चुअल बैठकमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहनुभएका सभापति देउवाले भ्रष्टाचार र अनियमितताका बारेमा संचार माध्यमले औंल्याएका गल्ती सच्याउँदै प्रधानमन्त्री अघी बढ्नेमा विश्वास व्यक्त गर्नुभयो । सभापति देउवाले भ्रष्टाचारका बारेमा निडर भएर लेख्न आग्रह गर्दै आफू सधै संचारमाध्यम र सञ्चारकर्मीको साथमा रहेको बताउनुभयो ।

सञ्चार माध्यमले भ्रष्टाचारमाथि प्रश्न उठाउँदा सरकारले अस्थिरता फैलाएको आरोप लगाएको पनि देउवाले बताउनुभयो । भ्रष्टाचार र अनियमितताको समाचार लेख्दा प्रधानमन्त्रीले सञ्चार माध्यमलाई धन्यवाद दिनुपर्नेमा उल्टै अस्थिरता फैलाएको आरोप लगाएको उहाँको भनाई थियो। ‘सञ्चार माध्यमले औंल्याएका गल्ती सच्याउंदै अघि बढ्न प्रधानमन्त्रीले जरुरी छ’– देउवाले भन्नुभयो ।

‘लकडाउन भएको दुई महिना पूरा भयो, पर्याप्त परीक्षण छैन । क्वारेन्टाइन कि गाई गोठ सोध्नुपर्ने स्थिति छ । पर्याप्त स्वास्थ सामग्री छैन । अत्यावश्यक राहतको उचित ब्यवस्थापन छैन । बिदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्दार गर्ने कुनै योजना छैन । यस्तो स्थितिमा मिडियाले अझै खरो ढंगले आवाज उठाउन जरुरी छ’ उहाँले भन्नुभयो ।

कोरोना महामारीको जोखिममा फ्रन्टलाईमा बसेर काम गरेका देशभरका पत्रकारका लागि स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराउनु सरकारको कर्तव्य भएको उहाँले स्मरण गराउनुभयो ।

कोरोना महामारीका कारण सञ्चार माध्यम र पत्रकारहरु समस्यामा रहेको भन्दै देउवाले पत्रकारिता क्षेत्रले भोगेको चुनौती सामना गर्न ब्यवस्थित राहत प्याकेज ल्याउन माग समेत गर्नुभयो ।