काठमाडौं, १० जेठ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूभाग भएको पर्याप्त प्रमाण रहेको भन्दै बिनाशर्त ती भूभाग नेपालले पाउनै पर्नेमा जोड दिनुभएको छ ।
स्कुल अफ डेमोक्रेसीद्धारा आयोजित प्रदेश नं १ स्तरीय जुम कन्फरेन्सलाई सम्बोधन गर्दै उपसभापति निधिले ती भूभाग नेपालकै हुन् भनेर स्पष्ट धारणा राख्ने नेपाली कांग्रेस नै पहिलो शक्ति भएको बताउनुभएको हो । नेपाली कांग्रेसका पूर्ब सभापति कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवा नेतृत्वको सरकार र कांग्रेस नेतृत्वले समेत ती भूभाग नेपालकै रहेको दृढ अडान राखेको पनि उहाँले स्मरण गराउनुभयो ।
अनाबश्यक रुपमा विवाद सिर्जना गर्न खोजिएको नेपाली भूभाग नेपालकै हो भनेर कांग्रेसले लिएको अडानलाई पछिल्लो समय कम्युनिष्टहरुले राष्ट्रियतासँग जोड्न खोजेको उपसभापति निधिले बताउनुभयो ।
भौगोलिक अखण्डता र राष्ट्रियता एउटै अर्थ लागे पनि दुईवटा अलग अलग बिषय भएको भन्दै उहाँले भौगोलिक अखण्डताका पक्षमा सरकार र प्रतिपक्ष एकै ठाउँमा भए पनि राष्ट्रियताका सबालमा कम्युनिष्ट दर्शन फरक रहेको उल्लेख गर्नुभयो ।
राष्ट्रियता जनता केन्द्रित हुने कांग्रेसको धारणा भएको भन्दै निधिले भन्नुभयो तर कम्युनिष्ट मान्यतामा कम्युनिष्ट पार्टीका सदस्य र समर्थक मात्र जनता हुने प्रचलन छ। राष्ट्रियताको केन्द्रीय पात्र भनेका जनता भएको निधिको भनाई थियो। प्रधानमन्त्री ओलीको राष्ट्रियता अधिनायकबादी अन्तर्राष्ट्रियता भएको निधिले बताउनुभयो । कम्युनिष्टहरुले संसारभरका मजदुरहरु एक हौं भनेको यहि अन्तर्राष्ट्रिय अधिनायकवादी सिद्धान्तबाट प्रेरित भएर हो।
कम्युनिष्टले भन्दै आएको राष्ट्रियतामा प्रजातन्त्र नै हुदैन, उहाँले भन्नुभयो । लोकतन्त्र बिनाको राष्ट्रियता नहुने भन्दै कांग्रेस उपसभापति निधिले कम्युनिष्टको राष्ट्रियतामा बहुलबाद भन्ने शब्द नै नभएको बताउनसभयो । उहाँले लोकतन्त्रलाई माइनस गरेर राष्ट्रियताको परिभाषा र जगेर्ना हुनै नसक्ने धारणा व्यक्त गर्नुभयो ।
चीन र भारतबीच व्यापार सम्झौतापछि मानसरोवरको धार्मिक पर्यटनसमेतलाई लक्षित गरी लिम्पियाधुराको बाटो बनाइएको कुरा सबैका सामु स्पष्ट रहेको भन्दै उपसभापति निधिले अतिक्रमित नेपाली भूमि फिर्ता गराउनका लागि भारत र चीन दुबै मुलुकसँग उच्चस्तरीय कुटनीतिक र राजनीतिक पहल गर्नुपर्नेमा जोड दिनुभयो ।