

सिन्धुपाल्चोक, १० जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सूचना तथा संचार मन्त्री मोहनबहादुर बस्नेतले कोरोना भाईरस (कोभिड–१९) को त्रासदीमा पनि अग्रपंतिमा रहेर काम गर्ने सिन्धुपाल्चोक जिल्लाका सबै स्वास्थ्यकर्मीको कोरोना म्यादी विमा गराई दिने घोषणा गर्नुभएको छ ।

केन्द्रीय सदस्य बस्नेतले एक विज्ञप्ति जारी गरी सिन्धुपाल्चोक जिल्लामा कार्यरत सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र उपस्वास्थ्य चौकीमा कार्यरत कार्यालय सहयोगिदेखि चिकित्सकहरु समेतको कोरोना म्यादी विमा गराइ दिने घोषणा गर्नुभएको हो ।

कोरोनाको महामारीबाट देशभर स्वास्थ्यकर्मीहरु पनि संक्रमित हुन थालेपछि यो क्षेत्र त्रसित बनेको र संक्रमित विरामी र आशंका गरिएका मात्र होइन साधारण विरामी जाँच्न पनि स्वास्थ्यकर्मीहरु डराइ रहेको अवस्थामा जनताको जीवन बचाउन खट्ने फ्रन्ट लाइनका स्वास्थ्यकर्मीहरुलाई उच्च मनोवलका साथ काम गर्ने वातावरण बनाउने उद्देश्यले कोरना म्यादी विमा गराइदिने केन्द्रीय सदस्य बस्नेतले बताउनुभएको छ । सिन्धुपाल्चोक जिल्लामा पाँच सय भन्दा बढी स्वास्थ्यकर्मी कार्यरत छन् ।

यसैबीच नेपालमा कोरोना भाईरसको संक्रमणबाट पहिलो मृत भएकी सिन्धुपाल्चोककी सावित्री तिमल्सिना चालिसेकी नवजात शिशुको पौष्टीक तत्व आहारका लागि दिने बस्नेतले रु ५० हजार नगद हस्तान्तरण गर्नुभएको छ । नवजात शिशुलाई पोखराकी पार्वती गुरुङ र माया गुरुङले रु ५० हजार नगद दिनुभएको छ । शुक्रबार धुलिखेल अस्पतालमा पुगेर मृतकका श्रीमानलाई नेता बस्नेतले जम्मा एक लाख प्रदान गर्नुभएको हो । आमा गुमाएका नवजात शिशुको १२ कक्षा सम्मको शिक्षा र त्यसपछिको रोजगारीको प्रतिवद्धता पनि उहाँले गर्नुभएको छ ।