काठमाडौं, ५ जेठ । नेपाल सरकारले भारतद्वारा अतिक्रमित भूमि समेटिएको नेपालको नयाँ नक्सालाई स्वीकृत गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रीपरिषद् बैठकले भारतले अतिक्रमण गरेका नेपालका लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समावेश भएको नयाँ नक्सा स्वीकृत गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयाे, ‘लिम्पियाधुरा लिपुलेक र कालापानी क्षेत्र समेटिएको छ । संघीयता अनुरुपका प्रदेश र स्थानीय तहहरु समेटिएका छन् । अन्य अन्तर्राष्ट्रिय सीमाहरु यथावत रहेका छन् ।’
उहाँले निशान छाप, सरकारी कामकाज र विद्यालय लगायत सम्पूर्ण क्षेत्रमा अद्यावधिक नक्सा नै प्रयोग हुने बताउनुभयो ।
बैठकमा भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले नयाँ नक्सा प्रस्तुत गर्नुभएको थियो । यसअघि गत जेठ २ गते सरकारले पेश गरेको नीति तथा कार्यक्रममा पनि सरकारले भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायत भू–भाग समेटेर नयाँ नक्सा जारी गर्ने प्रतिवद्धता गरेको थियो।
बैठकले नयाँ नक्सा नै नेपालको आधिकारीक नक्सा हुने र सवै क्षेत्रमा नक्सा अध्यावधिक गरेर नयाँ नक्सा प्रयोगमा ल्याउने प्रवक्ता खतिवडाले जानकारी दिनुभयो । यस्तै उहाँले कोरोनापछिको लकडाउनको अवस्थालाई मध्येनजर गर्दै बजेट ल्याइने पनि जानकारी दिनुभयो । अर्थमन्त्री समेत रहनुभएका खतिवडाले अवको १–२ दिनको अवस्था अध्ययन गर्दै नयाँ बजेट तोकिएकै दिनमा ल्याउने बताउनुभयो ।