फेरि ५३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित ३५७ जना पुगे (भिडियाे)

फेरि ५३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित ३५७ जना पुगे (भिडियाे)

काठमाडौं, ५ जेठ । कोरोना भाइरस (कोभिड–१९’ बाट संक्रमितको संख्या ५३ जनमा थपिएको छ । नयाँ संक्रमितहरु बाँकेमा ४७ जना, विराटनगर, गुल्मी, धादिङका, धनुषा, रौतहट र दाङका एकएक गरी ५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनु भएकाे छ ।

यो थपिएकोसंगै नेपालमा संक्रमितको संख्या ३ सय ५७ पुगेको छ । बाँकेमा आज मात्रै थप ४७ जनामा संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४६ जना पुरुष र एक महिला छन् ।

यस्तै, धुलिखेल अस्पतालमा गरिएको परीक्षणबाट चार जनामा संक्रमण देखिएको छ । उनीहरु धनुषा, रौतहट, दाङ र धादिङका पुरुष रहेको प्रवक्ता डा. देवकोटाले बताउनुभयो । विराटनगरमा गरिएको परीक्षणबाट मोरङमा एक पुरुष र भैरहवाको प्रयोगशालामा गुल्मीका ४१ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको छ । सोमबार संक्रमित पुष्टि हुनेहरु १८ देखि ४६ वर्षसम्मका पुरुष रहेको मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।

हालसम्मका कुल ३ सय ५७ जना संक्रमितमध्ये २ सय ९८ पुरुष छन् भने ५९ जना महिला छन् । यसअघि सोमबारै बिहान रौतहटमा सात पुरुष र एक महिला तथा र बारामा एक पुरुष गरी नौ जनामा संक्रमण पुष्टि भएको थियो । संक्रमितमध्ये हालसम्म ३६ जना निको भएका छन् भने दुई जनाको मृत्यु भएको छ ।

हेर्नुहाेस् भिडियाे