अमेरिकन आइडलको फस्ट रनर अप भए दिवेश अर्थात् आर्थर गन

  • 86
    Shares
अमेरिकन आइडलको फस्ट रनर अप भए दिवेश अर्थात् आर्थर गन

सुरज भण्डारी

टेक्सस, ५ जेठ । दिवेश पोखरेल अमेरिकन आइडलको फस्ट रनर अप बनेका छन् । अमेरिकाको कन्सास राज्यको विचिटा शहरमा बस्दै आउनुभएका २२ वर्षीय पोखरेल अमेरिकन आइडलको १८ औँ संस्करणको फस्ट रनर अप बनेका हुन् ।

छनोट चरण हुँदै अन्तिम २०, १०, ७ र फाइनल चरणका लागि अन्तिम पाँचभित्र समेटिँदै पोखरेल फाइनलमा पुगेका थिए । अमेरिकन आइडलमा आर्थर गनको नामबाट सहभागी पोखरेलले आइडलको छनोट चरणदेखि नै निर्णायकको मत जित्दै आएका थिए । मतमार्फत अघि बढ्ने चरणमा समेत उनले उत्साहप्रद मत प्राप्त गरेका थिए । उनको आइडलको सहभागितासँगै अमेरिकामा रहेको नेपाली समुदायमा आइडलप्रतिको चासो ह्वात्तै बढेको थियो ।

विश्वभर छरिएको नेपाली समुदायबाट उनलाई मत प्राप्त भएको थियो । त्यसका निम्ति पोखरेलले सबैमा आभारसमेत व्यक्त गरेका थिए । गत सेप्टेम्बरमा दिवेश आइडलका लागि छनोट भएका थिए । फ्रेन्च कवि आर्थर रिमबाउडबाट प्रभावित भएर आफ्नो स्टेज वा साङ्गीतिक नाम आर्थर गन राखेको बताउने दिवेश छ वर्षअघि अमेरिका आएका थिए ।

काठमाडौंमा जन्मिएका दिवेशले अमेरिका आउनुअघि पनि नेपाली सङ्गीतिक कोसेली एलबम ‘ग्रहण’ सार्वजनिक गरेका थिए । दिवेश फस्ट रनर अप भएको एबिसी टेलिभिजनले सञ्चालन गर्ने आइडलको उपाधि भने २१ वर्षीया जष्ट सामले जितेका थिए । उपाधि विजेता जष्ट लाइबेरियाली मूलकी छिन् । रासस