विनोद चौधरीको विशेष समितिले थाल्यो कोरोनाले अर्थतन्त्रमा पारेको प्रभावबारे अध्ययन

विनोद चौधरीको विशेष समितिले थाल्यो कोरोनाले अर्थतन्त्रमा पारेको प्रभावबारे अध्ययन

काठमाडौं, ४ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांंग्रेसको लगानी पूर्वाधार र रोजगार दृष्टिकोण एवं दिगो विकास परियोजना केन्द्रित विषेश समितिले कोरोना भाइरसले अर्थतन्त्रमा पारेको प्रभावबारे अध्ययन सुरु गरेको छ।

उद्योगपति विनोद चौधरी संयोजक रहेको समितिले कोरोना भाइरसले नेपाली अर्थतन्त्रमा पारेको असरबारे अध्ययन सुरु गरेको हो। समितिले कोरोनाका कारण उत्पन्न परिस्थितिको अध्ययन गरेर तत्कालीन, मध्यकालीन र दीर्घकालीन रणनीति तयार पारेर पार्टीलाई सुझावसहितको प्रतिवेदन बुझाउने छ।

तत्काल घोषणा गर्नुपर्ने राहत प्याकेज, सरकारका तर्फवाट तय गर्नुपर्ने नीति र अर्थतन्त्रलाई चलायमान बनाउन चाल्नुपर्ने दीर्घकालीन कदम तथा दिगो विकासका रणनीति समेत सुझाव प्रतिवेदनमा समेट्ने निर्णय समितको आइतबार बसेको बैठकले निर्णय गरेको छ।

बैठकमा कोरोना भाइरसका कारण उद्योग व्यापार तथा व्यावसाय बन्द हुँदा उत्पन्न परिस्थिति, श्रमिकका समस्या, वैदेशिक रोजगारी गुमाएर नेपाल फर्कने झण्डै दश लाख युवाको व्यवस्थापनबारे पनि छलफल भएको थियो। लकडाउनका कारण भोग्नुपरेका समस्याबारे देशभरका व्यवसायीसँग छलफल गर्ने निर्णय समेत बैठकले गरेको समितिका सदस्य एवं वागमती प्रदेश कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले जानकारी दिए।

बैठकमा बैंकको ब्याज मिनाहा, श्रमिकको तलब, कृषि पूर्वाधारमा गर्नुपर्ने सुधार लगायत अर्थतन्त्रका समग्र पक्षबारे समितिका सदस्यहरुले आआफ्ना धारणा राखेका थिए। महामारीका कारण अर्थतन्त्रमा उत्पन्न संकटबाट जोगाउन सरकारले तत्काल विषेश राहत प्याकेज घोषणा गर्नुपर्नेमा समितिका सदस्यहरुले जोड दिएका थिए।

बैठकले विषेश समितिको उपसंयोजकमा दिपक खड्का, इन्द्र बानियाँ र सांसद उमेश श्रेष्ठलाई मनोनयन गरेको छ। साथै विषेश समिति गठन गरी कोरोना भाइरसको महामारीबाट उत्पन्न परिस्थितिबारे सुझाव दिने जिम्मेवारी दिएकोमा बैठकले कांग्रेस केन्द्रीय समितिलाई धन्यवाद समेत दिएको छ।