काठमाडौं, ३ जेठ । नेपालमा पहिलो पटक कोरोना संक्रमितको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले नेपालमा पहिलो पटक कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको विज्ञप्ती मार्फत पुष्टि गरेका हुन् । मृतक महिला सिन्धुपाल्चोक घर भएकी २९ वर्षीया रहेकी छिन् । उनलाई सुत्केरी गराउन बैशाख २३ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उनको १० दिनअघि त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी भएको थियो । आमाछोरा दुबैको स्वास्थ्य सामान्य थियो र उनीहरू २५ गते डिस्चार्ज भएर घर फर्किएका थिए ।
डिस्चार्ज भएको ८ औं दिनमा (बिहीबार) श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई स्थानीय अस्पतालमा लगिएको थियो । सुत्केरीको मृत्युभएपछि धुलिखेल अस्पताललाई सील गरिएको छ ।