समस्यामा परेका चलचित्रकर्मीलाई राज्यमन्त्री मानन्धरको साथ

समस्यामा परेका चलचित्रकर्मीलाई राज्यमन्त्री मानन्धरको साथ

काठमाडाैं। लकडाउनका कारण समस्यामा परेका २७० जना श्रमजीवि चलचित्रकर्मी तथा न्यून आय भयका कलाकारहरु तथा प्राविधिकहरुलाई खाद्यान्न सहयोग गरिएको छ ।

सहरी विकास राज्यमन्त्री माननिय रामवीर मानन्धरको पहलमा शुक्रबार ६ हजार ७५० केजी चामल र ८२५ केजी दाल हस्तान्तरण गरिएको चलचित्र निर्माता संघका अध्यक्ष तथा चलचित्र प्रवर्द्धन एवं समन्वय समितिका संयोजक आकाश अधिकारीले बताए ।

‘न्युन आयस्रोत भयका श्रमजीवि चलचित्रकर्मी झण्डै दुई महिना लामो लकडाउनको चपेटामा परेका छन् । अब भने साँच्चै नै उनिहरुलाई राहतको आवश्यकता परेको छ । मेरो ब्यक्तिगत र हाम्रो संस्थागत पहलमा सरकारले यतिठुलो अति आवश्यक सहयोग गरेकोमा खुशी लागेको छ’, अधिकारीले भने । अधिकारीले विपद्का बेला मन्त्रीको पहलमा भएको सहयोग आफुहरुका लागि अमुल्य सहयोग भएको बताए ।

आदिवासी जनजाति महासंघका ३५ जना, नृत्य संघका ४५, निर्देशक समाजका तर्फबाट सहायक निर्देशकहरु ३० जनालाई एक एक बोरा चामल र तीन केजीका दरले दाल उपलब्ध गराईने छ । यस्तै तेस्रोलिंगिहरुको प्रतिनिधित्व गर्ने ब्लुडायमण्ड सोसाईटीका ३० जना, प्राविधिक संघका ३५, चलचित्र द्वन्द्व संघका २५ जना, कलाकार संघका जुनियर कलाकारहरु ३५ जना र संगीत उत्पादन समाजका ३५ जना गरि २७० जना चलचित्रकर्मी लाई खाद्यान्न उपलब्ध गराई सहयोग गरिएको छ । खाद्यान्न सबै संस्थाका अध्यक्ष र महासचिवलाई जिम्मा लगाइएको छ ।