काठमाडौं, २ जेठ । नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा जारी गर्ने घोषणा गरेको छ । संघीय संसदमा पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि भएको र यसलाई प्राप्त गर्न ठोस कूटनीतिक पहल गर्ने उल्लेख गर्नुभयो ।
छुटेको भूमि समेत समापेश गरी नेपालको नक्सा जारी गरिने उहाले बताउनुभयो । सीमा व्यवस्थापन गर्न थप बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गर्ने समेत नीति तथा कार्यक्रममा उल्लेख छ । ऐतिहासिक सन्धि, नक्सा, तथ्य र कुटनीतिक माध्यमबाट भारतसँग भएको सीमा विवाद समाधान गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
यस्तै अध्यागमनलाई अध्याधुनिक र प्रविधिमैत्री बनाइने, प्रदेशसँगको समन्वयमा कारागारको भौतिक पूर्वाधार विकास गरेर व्यवस्थापन गरिने र कैदीको श्रम र सीपलाई उत्पादनमूलक काममा लगाइने नीति तथा कार्यक्रममा उल्लेख छ । गैरआवासीय नेपालीहरुको पुजी र प्रविधीहरुलाई मुलुकको बिकासमा लैजाने उहाले बताउनुभयो ।
छिमेकी तथा अन्य मित्रराष्ट्रसंगको सम्बन्ध सुदृढ बनाउने, कोरोना महामारीको नियन्त्रण र यसबाट प्रभावित बिकास निर्माणलाई तिव्रता दिने अठोटका साथ नीति तथा कार्यक्रम प्रस्तुत गरिएको राष्ट्रपति भण्डारीले बताउनुभयो । प्रस्तावित नीति तथा कार्यक्रमको कार्यान्वयनबाट उच्च आर्थिकबृद्धि हासिल हुने र समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पुरा हुने सरकारको विश्वास रहेको राष्ट्रपति भण्डारीले बताउनुभयो ।