मधेसी नेतालाई सरकारमा जाने हतारो

मधेसी नेतालाई सरकारमा जाने हतारो

काठमाडौं । उपेन्द्र यादव मधेस आन्दोलका ‘हिरो’ मानिन्छन् । तर अहिले तिनै ‘हिरो’ नेतालाई केपी ओली नेतृत्वको सरकारमा जान हतार भएको छ । सरकारमा जान उनले एमालेको औपचारिक निम्ता पर्खेर बसेका छन् । एमालेका अध्यक्ष ओलीसँग वार्ता गर्न उनी गत शुक्रबार जनकपुरको पार्टीको एउटा कार्यक्रम छाडेर काठमाडौं आए । काठमाडौंमा उनले ओलीसँग दुई–तीनपटक कुराकानी गरेका छन् ।


यादव निकट स्रोतका अनुसार उनले उपप्रधानमन्त्री र परराष्ट्रमन्त्रीको आकांक्षा राखेका छन । यसपटक मन्त्री हुन सकिएन भने आगामी पाँच वर्षसम्म सरकार बाहिरै बस्नुपर्ने निष्कर्ष उनले निकालेका छन् । त्यसैले उनले सरकारमा जान एउटा बाहना खोजिरहेका छन्, स्रोतको भनाइ छ ।  यादवले एमालेसँग परराष्ट्र मन्त्रालयसहित तीनवटा मन्त्रालय मागेका छन् । ओलीले भने दुईवटाभन्दा बढी मन्त्रालय दिन नसकिने बताएका छन् । दुईवटा मन्त्रालय पाए पनि सरकरमा जाने मनस्थितिमा यादव छन् ।  केन्द्रीय सरकारमा आफू जान यादवले प्रदेश नम्बर २ मा एमाले सरकारमा जानुपर्ने सर्त राखेका छन् । प्रदेश २ मा एमाले सरकारमा गयो भने केन्द्रीय सरकारमा जान बाटो खुल्ला हुने यादवको निष्कर्ष छ ।
प्रदेश २ मा एमाले सरकारमा जानुपर्ने यादवको भनाइमा राजपा झस्किएको छ । राजपाको शनिबार बसेको अध्यक्ष मण्डलको बैठकमा यसबारेमा गम्भीर छलफल भएको थियो । प्रदेश २ को सरकारमा एमालेलाई सहभागी गराउन नहुने तर्क राजापको छ । शनिबार बसेको राजपा अध्यक्ष मण्डलको बैठकमा संयोजक महन्थ ठाकुर र अध्यक्ष शरतसिंह भण्डारीले एमाले सरकारमा सहभागी भयो भने राजपा सरकारबाट बाहिरिनुपर्ने तर्क राखेका थिए । राजेन्द्र महतोले भने यसबारेमा केही बोलेका थिएनन् ।
केन्द्र सरकारमा जान संघीय समाजवादी फोरमले आफ्नो अडानमा पनि परिवर्तन गरेको छ । संविधान संशोधन गर्ने प्रतिबद्धता जनाए पार्टी सरकारमा जाने धारणाा फोरमका नेताहरूले राखेका छन् । यसअघि फोरमका नेताहरूले सरकारमा जान संविधान संशोधन हुनै पर्ने सर्त राख्ने गर्थे, तर अहिले उनीहरू परिवर्तन भएका छन् । एमालेले पनि संविधान संशोधनमा सहमति जनाउन सकिने बताएको छ, तर कुन कुन मुद्दामा संशोधन गर्ने भन्नेबारेमा भने अहिले सहमति गर्न नसकिने एमालेका नेताहरूको भनाइ छ । त्यसैले संविधान संशोधन गर्ने भनाइले मात्र फोरम सरकारमा जान तयार भएको हो ।
सरकारमा जानुअघि नै एमाले र फोरमबीच संविधान संशोधनका मुद्दामा छलफल भयो भने दुई पार्टीको धारणा समान हुँदैन । फोरम सीमांकनसहितको संशोधन चाहन्छ, तर एमालेले यस विषयमा बोल्नै चाहँदैन । त्यसैले संशोधनको मुद्दामा छलफल नै नगरी फोरमलाई सरकारमा ल्याउने एमालेको लाइन छ । यसमा फोरमले पनि सहमति जनाएको छ । -तरुण साप्ताहिकबाट