–मुकुन्द अर्याल–
१
सृष्टिको सुन्दर रचना
धरतीको सबैभन्दा विवेकशील प्राणी ए मान्छे
मैले कतिपटक सम्झाए तँलाई
तँलाई जन्म दिने आमाबाउजस्तै हुन् ,
तँलाई काख दिने प्रकृति र पर्यावरण
जसले तँलाई सालनालमा उठाएर
व्रम्हनालमा पुरयाउँछिन्
तर तँ कति कृतघ्न ?
विकासका नाममा जथाभावी
यिनकै छाला चिथोर्छस्
सुविधाका नाममा
यिनकै छातीमा असंख्य रेल मोटर कुदाउछस्
२
लाखौलाख चिलगाडी उडाउँछस्
कार्वन उत्सर्जन र ग्लोवल वार्मिंग बढाउँछस्
ओजोनमा प्वाल पार्छस् ,हिमालको उचाई घटाउँछस् ,
छेकेर नदीको बाटो आफनै वस्ती बसाउँछस्
उत्पादन वृध्दिका नाममा अन्नबालीमा विषादी छर्छ्स्
धरतीकै सन्तान चराचुरी जंगली जनावरलाई थुनेर
जथाभावी हत्या गर्छस् खान्छस्
यो धरती पर्यावरणको रक्षा गर्दै ,
तेरो जीवन सहज बनाउन
मैले तीक्ष्ण वुध्दि विवेक दिएँ तँलाई
तर तैले त्यसलाई ,बम मिसाईल बनाउन प्रयोग गरिस्
रोवोट बनाउन प्रयोग गरिस्
आश्चर्य नमान्नु , तैले बनाएका कृत्रिम मान्छेले
तैलाई प्रहार गरे भने कुनै दिन
तेरै रोवोटको आपसी युध्दबाट
यो पृथ्वी ध्वस्त धयो भने कुनै दिन
३
यो प्रकृति र तेरो सम्वन्ध बुझाउन, हरतरहले सम्झाए तँलाई
तर पटक्क सुनिनस् र अहिले अन्तिमपटक
निवासमै थुनेर सम्झाईरहेछु
गल्तीहरुको सिंहावलोकन र प्रायश्चित गर
हरिओम .पृथ्वी शान्ती राप शान्ति वाचन गर्दै
सर्वशक्तिमान भगवान या प्रकृतिसंग
समग्र शान्तीको याचना गर
सत्यं शिवं सुन्दरम् यात्रा आरम्भ गर
यदा यदा हि धर्मस्य ग्लानी ….
फगत यो पृथ्वी र पर्यावरणको रक्षा खातिर आएको छु
यतिमात्र बुझिस भने मेरो संकेत
भोलि पर्खन्न आज अहिल्यै भाग्छु
हैनभने राम्रोसंग विचार गर मान्छे
महिनौ महिनासम्म यसरी नै
अनिश्चयको डोकोभित्र थुनेर
वारम्बार सत्राशको कोर्राले हानिराख्छु ।
(भूगोल साहित्य समाजद्वारा केही पहिले आयोजित भर्चुअल कवि गोष्ठीमा पाठ गरिएको कविता )