नेपाल–भारत सीमा क्षेत्रमा काँडेतार लगाउनुपर्ने सांसदहरुको माग

नेपाल–भारत सीमा क्षेत्रमा काँडेतार लगाउनुपर्ने सांसदहरुको माग

काठमाडौं, ३१ वैशाख । राष्ट्रियसभाका सांसदले नेपाल–भारतसीमा क्षेत्रमा काँडेतार लगाउनुपर्ने माग गरेका छन् । सीमा क्षेत्रमा रहेका नागरिकलाई भारतीय गतिविधिले आक्रान्त बनाएको उल्लेख गर्दै आज बसेको राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्ने सांसदले काँडेतार वा पर्खाल लगाउन माग गरेका हुन् ।

राष्ट्रिय सभा सदस्य इन्दु कडरियाले सीमा क्षेत्रमा सरकारले काँडेतार लगाउन तयार भए एक वर्षको सेवा सुविधा दिन तयार रहेको बताउनुुभयो । अहिले लिपुलेक क्षेत्रमा भारतले सडक निर्माण गरेको विषयले तराईका सीमाक्षेत्रमा बस्न बासिन्दालाई आक्रान्त बनाएको उहाँले बताउनुुभयो ।

सांसद अनिता देवकोटाले भारतले नेपाली भूमिमा सडक निर्माण गरेको विषयमा सरकारको स्पष्ट धारणा सदनमा जानकारी गराउन माग गर्नुुभयो । सांसद उदया शर्माले सीमा क्षेत्रमा काँडेतार लगाउन यही आर्थिक वर्षबाट बजेटको व्यवस्था गर्न आग्रह गर्दै भारत सरकारसँग वार्ताका लागि उचित पहल गर्न सरकारसँग माग गर्नुुभयो ।

सांसद कोमल वलीले कोरोना संक्रमणको दर बढिरहेकाले सीमा क्षेत्रमा रहेका नागरिकको व्यवस्थापनमा ध्यान दिन आग्रह गर्नुुभयो । लुकिछिपी नेपाल आउनेको संख्या बढेसँगै संक्रमितको दर पनि बढेको उल्लेख गर्दै उहाँले सरकारले उचित प्रबन्ध मिलाएर सीमा क्षेत्रमा रहेका नागरिकलाई स्वदेश ल्याउनुपर्ने बताउनुुभयो ।

सांसद तारादेवी भट्टले बिनासूचना दशगजा क्षेत्रमा नेपाल नागरिक अलपत्र रहेकोतर्फ सरकारको ध्यानाकर्षण गराउदै खाडीमा रहेका नेपालीको उद्धार गरी स्वदेश फर्काउन पनि उहाँले आग्रह गर्नुुभयो ।