काठमाडाैं, ३० वैशाख । नेपाली काङ्ग्रेसका सांसद तथा शिक्षाविद उमेश श्रेष्ठले कोरोना संकटबाट उत्पन्न समस्यालाई अवसरमा बदल्ने गरी नयाँ बजेट ल्याउन सरकारलाई सुझाव दिनुभएको छ ।
बजेटका प्राथमिकताबारे संसदमा आफ्ना धारणा राख्दै सांसद् श्रेष्ठले ७ वटा क्षेत्रमा बजेट केन्द्रीत गर्न र फजुल खर्च घटाउन सरकारलाई सुझाव दिनुभएको हो । कोरोना महामारीका कारण राजश्व तथा रेमिट्यान्स घटने, दातृ निकायहरुसमेत आफै समस्यामा रहेका कारण विदेशी सहयोग समेत घट्ने भएकाले स्रोतको सिमिततालाई हेरेर चुस्त बजेट बनाउन सांसद श्रेष्ठले सुझाव दिनुभएको छ ।
विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन श्रमिकहरुले नै जम्मा गरेको कल्याणकारी कोषको ५ अर्व रुपैयामा थप ५ अर्व थपेर १० अर्वको उद्धार र पुनस्थापन कोष खडा गर्न र परिचालन गर्न तथा उनिहरु स्वदेश फर्किएपछि राहत र पुनस्थापन तथा रोजगारीका लागि २ खर्वको बिषेश कोष खडा गर्न श्रेष्ठको सुझाव छ ।
स्वास्थ्य क्षेत्रमा आमुल सुधारको आवश्यकता औल्याउदै सांसद श्रेष्ठले ७ वटै प्रदेशमा कम्तिमा एउटा सुविधासम्पन्न अस्पताल निर्माणकालागि बजेट छुट्याउनु पर्ने बताउनुभयो । युवा रोजगारी, कृषि उत्पादन, उर्जा उत्पादन र शिक्षा तथा प्रविधिको विकास बजेटको प्राथमिकता हुनुपर्ने सांसद श्रेष्ठको सुझाव रहेको छ ।
भिडियाे हेर्नुहाेस्