काठमाडौं, २९ वैशाख । आज मात्रै नेपालमा थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । बिहान कपिलवस्तुमा १० जनामा कोरोना पुष्टि भएकोमा साझ कपिलवस्तु, रुपन्देही र बर्दियामा थप १३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार थप १३ जना संक्रमितमध्ये कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिए ।
मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार कपिलवस्तुको यशोधरा गाउँपालिका – ८ र वुद्धभूमि नगरपालिका- ७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
त्यस्तै रुपन्देहीको सम्मरीमाइ गाउँपालिका– ७ र लुम्बिनी साँस्कृतिक गाउँपालिका ६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । बर्दिया राजापुर नगरपालिका– ५ कि ११ वर्षकी बालिकामा पनि कोरोना संक्रमण देखिएको छ ।
कपिलवस्तुमा मात्र सोमबार १६ जनामा कोरोना संक्रमण देखिएको छ । रुपन्देहीमा यसअघि एक जनामा संक्रमित देखिएकामा सोमबार ६ जना थपिएको हो । बर्दियामा भने पहिलो पटक कोरोना संक्रमण देखिएको हो । सोमबार नै सप्तरीमा एक जनामा कोरोना संक्रमण देखिएको थियो ।