काठमाडौं, २९ वैशाख । संघिय संसदमा आजदेखि पूर्व बजेटमाथिको छलफल सुरु भएको छ । सकेसम्म आजभोलिभित्रमा पूर्व बजेटमाथिको छलफल सक्ने र जेठ २ गते नीति तथा कार्यक्रम ल्याउने सरकारको तयारी छ ।
हिजो बसेको संसद बैठकमा अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७७/०७८ को बजेटको सिद्धान्त तथा प्राथमिकताका क्षेत्र सार्वजनिक गर्नुभएको थियो । अर्थमन्त्री खतिवडाले सार्वजनिक गरेको प्राथमिकताको क्षेत्रका आधारमा आजदेखि सांसदहरूले सुझाव दिइरहेका छन् ।
नोबेल कोरोना भाइरसको महामारी र त्यसबाट उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै आउँदो आर्थिक वर्षको बजेट तयार पारिने र दिगो तथा सन्तुलित विकासमा ध्यान दिने गरी प्राथामिकता क्षेत्र निर्धारण गरिएको अर्थमन्त्री खतिवडाले बताउनुभएको छ ।
मुलुकभित्र उत्पन्न हुने बेरोजगारी समस्या र विदेशमा रोजगारी गुमाएर फर्कने युवालाई रोजगारीमा समावेश गराउन कृषि, साना घरेलु र सेवा क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रम आउने उहाँको भनाइ छ । जेठ १५ गते भित्रमा बजेट सार्वजनिक गरिसक्नुपर्ने संबैधानिक बाध्यताका कारण कोभिड १९ को जोखिमको बीचमा पनि संसद बैठक बसिररहेको छ ।