कोटेश्वरका क्लबहरुद्वारा हजारौंलाई निःशुल्क भोजन सेवा

कोटेश्वरका क्लबहरुद्वारा हजारौंलाई निःशुल्क भोजन सेवा

मुकुन्द अर्याल

काठमाडौं, २९ वैशाख ।

खोज्छन् मानिसहरु सुख भनि सुख त्यो कहां छ ,
आफू मिटाई अरुलाई दिनुमा जहाँ छ
(महाकवि लक्ष्मी प्र. देवकोटा )

विश्व मानव समुदाय यतिबेला कोभिड १९ अदृश्य विषाणुसंग युध्द गरिरहेछ । यस वैश्विक महामारीको महायुध्दमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु अग्रमोर्चामा रहेर लडिरहेका छन् भने अर्कोतर्फ संगसंगै भोकको महायुध्द पनि चलिरहेछ ।

यस महायुध्दमा नरलाई नारायण ठान्दै मानव सेवा नै माधव सेवा हो भन्ने परोपकारी भावनाबाट अभिप्रेरित भई हजारौ समाजसेवी संस्थाहरु खटिरहेका छन् । यसैको एक गतिलो उदाहरण बनेका छन् कामनपा ३२ कोटेश्वरका स्थानीय क्लवहरु । स्थानीय कोेटेश्वर समाजसेवा सुधार युवा क्लब महादेवस्थानले विगत १९ दिनयता बन्दाबन्दीको कारण अप्ठेरोमा परेका कुल ६०३४ जनालाई निशुल्क भोजन सेवा उपलव्ध गराएको छ । उक्त सेवा वैशाख महिनाभर संचालन गरिने छ ।

यसैबीच क्लवले भोजन व्यवस्थापन कार्यमा सघाउने सम्पूर्ण संस्था तथा महानुभावहरु , भोजन सेवा स्वीकार गर्ने सम्पूर्ण महानूभावहरु तथा क्लवका गतिविधिलाई महत्वका साथ प्रचार प्रसार गरिदिने संचार माध्यमहरुलाई हार्दिक आभार व्यक्त गरेको छ । स्मरण रहोस् स्थापनाकालयता नै महादेवस्थान मन्दिर वरपरको वातावरण संरक्षण , रक्तदान ,विपतकालमा निशुल्क भोजन सेवा लगायतका सामाजिक गतिविधिमा क्रियाशील ,स्थानीय युवा उद्यमी सुवाश कुमार रिमालको अध्यक्षतामा गठित ९ सदस्यीय क्लवको उपाध्यक्ष उध्दव कार्की ,सचिव रविन्द्र घिमिरे ,सहसचिव जयन कुमार खड्का ,कोषाध्यक्ष सविर बुढाथोकी सहकोषाध्यक्ष प्रकाश पौडेल र सदस्यहरुमा श्याम रिजाल ,अरुण नेपाल र तिर्थ अवाले हुनुहुन्छ ।

यसैगरी स्थानीय सेती ओपी युवा क्लवले असहज अवस्थामा रहेका ६ हजार ५ सय सय व्यक्तिहरुलाई निशुल्क भोजन सेवा उपलव्ध गराई हाललाई उक्त सेवा स्थगित गरिएको जानकारी क्लवलाई उद्घृत गर्दै स्थानीय युवा उद्यमी भरत कार्कीले दिनुभएको छ ।