काठमाडौं, २८ वैशाख । सत्तारुढ दल नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतले सीमा विवाद कूटनीतिक ढंगबाट समाधान गर्न नचाहेमा नेपालले त्यसभन्दा अगाडि कस्तो बाटो अपनाउने हो भन्ने निष्कर्षमा पुग्नुपर्ने बताउनुभएको छ ।
सिंहदरबारमा आइतबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा उहाले सकेसम्म कूटनीतिक र उच्च राजनीतिक तहबाट समस्या समाधान हुनुपर्नेमा जोड दिनुभयो । प्रचण्डले भारतले नेपालको सीमा अतिक्रमण गरेको विषयमा सरकारले अपनाउने कुटनीतिक पहल ठीक हुनुपर्ने बताउनु भएको छ।
भारतले लिपुलेक भएर चीन जाने सडक निर्माण गरेसँगै सीमा विवादमा चीन पनि जोडिन आइपुगेको प्रचण्डको भनाई छ । यो समस्या समाधानमा तीनवटै देशको समझदारी हुनुपर्ने भन्दै उहाँले लिपुलेकलाई त्रिदेशीय व्यापारिक नाका बनाउन सकिने धारणा पनि राख्नुभयो ।
भारतले विगतदेखि नै लिपुलेक, लिम्पियाधुरा र कालापानी आफ्नो नक्सामा राख्दै आएकोमा सुगौली सन्धि यता नेपालमा रहेको भू–भागलाई फिर्ता ल्याउन पहल हुनुपर्ने उहाँको भनाई छ । उहाँले भारतले नेपाली भूमिमा सडक निर्माण गरेको र रक्षामन्त्री राजनाथ सिंहले उद्घाटन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विवाद गम्भिर मोडमा गएकोले राजनीतिक र कूटनीतिक तहमा पहल थाल्न सुझाव दिएको बताउनुभयो ।
यस्तै, सीमामा कहिले कसले कति गल्ती गरे भन्नेबारेमा समीक्षा हुनुपर्ने पनि उहाँले बताउनुभयो । अहिलेसम्मका सरकारहरूले के गरे भन्ने समीक्षा गर्ने बेला आएको उहाको भनाई छ ।