सार्थक हुन नसकेको फेसबुकमै रुमल्लिएको प्रेम !

सार्थक हुन नसकेको फेसबुकमै रुमल्लिएको प्रेम !

– सागर आत्रेय –

सायद, मनमा बसेकी प्रिय मान्छे भएकाले पनि होला । सोच्थेँ, यो संसारमा तिमीलाई राम्ररी बुझ्न सक्ने मान्छे म नै हूँ । तिम्रो दुःखमा सँगै दुख्ने वाचा पनि गरेको थिएँ मैले । हुन त हाम्रो सम्बन्ध जोडिएको त्यति लामो समय पनि भएको थिएन ।

भर्खरै केही समयअघि मात्रै हाम्रो सम्बन्ध जोडिएको थियो– सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट । लामो पर्खाइपछि फेसबुकको वालमा पोष्टिएका केही लजालु अनि साधारण लाग्ने प्रोफाइल पल्टाउँदै जाँदा तिमीसँग जोडिएको थियो, त्यो सम्बन्ध । जिवनको आधा जवानी ‘पछि’ र ‘पर्खने’ भन्दै वितेको थियो । यही ‘पछि’ र ‘पर्खने’भन्ने शब्दलाई आत्मसात् गर्दैगर्दा जिवनको उर्वर यौवनको उत्कट चाहनालाई मारेर म बाँचिरहेको थिए । अनायास फेसबुकमा भेटिएको तिम्रो शालिनता, भद्र र साधारण पोष्टले मलाई आकर्षित गरेको थियो ।

त्यही भएर नै मैले तिमीलाई फ्रेण्ड रिक्वेष्ट पठाएको थिए । अनि तिमीले पनि सहर्ष स्वीकार गर्दै मलाई सहमति जनाएकी थियौँ । फेसबुक म्यासेन्जरमै हाम्रो सम्पर्क झाँगिएको थियो । फोन नम्बर आदान–प्रदानसँगै कुराकानीको क्रमले निरन्तरता पाएको थियो । तिमीसँग कुराकानी गर्न पाउँदा सायद मलाई ठूलै युद्ध जितेको आभाष हुन्थ्यो ।

त्यसक्रममा तिमीले पनि मलाई प्यार दर्शाउँदै भन्ने गथ्र्यौ– ‘मलाई चोखो माया गर्ने । मलाई बुझ्ने र मेरो भावनाको कदर गर्ने हजुर नै त हुनुहुन्छ ।’ हो, म तिम्रो भावनाको कदर गर्थेँ । किनकी चोखो मनको प्यारमा एक–अर्काको भावनाको कदर गर्नु, विचारको सम्मान गर्नु, एकआपसमा सञ्चार हुनु, हृदयदेखि नै विश्वास गर्नु आवश्यक हुन्छ । त्यसैले यी सब कुरामा उत्तिक्कै ध्यान दिएको लाग्थ्यो मलाई । सङ्घर्षपूर्ण जिन्दगी गुजारिरहेको पलका बीचमा जोडिएको हाम्रो सम्बन्धले उचाइ पाओस् भन्नेमा प्रयासरत् थिएँ म । त्यसैले मैले तिमीलाई आफूभन्दा नि धेरै माया गर्थे । कुराकानीका क्रममा हामी कतिसम्म सामिप्यतामा थियौँ भन्ने कुरा अहिले यो लेखमा प्रस्तुत गर्न सक्ने आँट म मा छैन् ।

बस् मलाई यत्ति थाहाँ छ कि तिमीले भन्ने गथ्र्यौ– ‘हजुरबिना बाँच्न सक्दिनँ । हजुरलाई धेरै माया गर्छु । हजुरबाट अलग्गिएर बस्ने छैन म ? हजुरलाई विजन साथीको भन्दा कम माया गर्दिन् ।’ अनि म पनि सदा तिम्रो सुख र खुशी अनि भलो चिताउने मान्छेकारुपमा आफूलाई उभ्याउने प्रयासमा थिएँ । हुन त तिमी र मेरो भौतिकरुपमा भेट नभएपनि सामाजिक सञ्जाल फेसबुकमा भने हामी संसारका कुनैपनि उदाहरणीय दम्पतिको भन्दा कम कुरा र दूरीमा थिएनौँ । हो, तिमी जसको भए पनि र संसारको जुनसुकै कुनामा रहे तापनि तिमीलाई म चोखो माया गरिरहेको थिएँ । यो अन्तहीन श्रृंखला कहाँ पुगेर टुंगिएला ? प्रश्न निकै पेचिलो जस्तो लाग्दै थियो ।

एकछिन पनि फेसबुकको म्यासेन्जरमा कन्भर्सेशन र फोनको स्पिकरमा आवाज सुन्न नपाउँदा छटपटिएको आभाष हुन्थ्यो मलाई । यत्तिकैमा तिम्रो त्यो ‘आज म फोनमा कुरा गर्न सक्दिन’ भन्ने वाक्यले मलाई पिरोलिरह्यो । म त्यो पल कति दुःखी भएँ यहाँ वर्णन गर्न सक्दैन् । त्यसै दिन म्यासेन्जरमा पनि तिमी खुलेर बोल्न नसक्दा लाग्यो– तिमीले गरेका बाचा देखावटी र वनावटी रहेछन् । अनि, मैले पनि आफ्नो मनलाई निचोरे । बुझिनसक्नुको जिन्दगीलाई केही बुझेजस्तो लाग्यो । बहकिन खोज्ने पापी मनलाई थम्थम्याउँदै केही सपना बुन्ने सोच बनाउँदैे समयको गतीसँगै आफ्नो दैनिकीलाई पनि अगाडी बढाउँदै गए । यो मानबको जीवन पनि कस्तो कस्तो थाहा नै नपाई कसैको माया पाउनु र गुमाउनुको कुनै सीमा नै नहुने ? यो माया पनि कस्तो कस्तो कुन बेलामा रुवाउँछ कुनबेला हसाउँछ अनि कुनबेला मिलन र बिछोड् हुन्छ थाहा नै नहुने । आज मलाई पनि त्यस्तै लाग्न थालेको छ । यसरी नै मनमा अनेक कुराहरु खेलाउँदै आफ्नो दिनहरु बिताउँदै गए ।

भनिन्छ, प्रेम भनेको एउटा यस्तो भावना हो जसलाई न कसैको बुद्धिले रोक्न सक्छ न कुनै तर्कले नै छेक्न सक्छ । भनिन्छ कि प्रेम प्रेरणाको खानी हो, प्रेम जीवन हो, प्रेम प्रकृति हो, प्रेम विश्वास हो अनि प्रेम संसारै हो । प्रकृतिको सबैभन्दा सुन्दर उपहार हो प्रेम र त्योभन्दा मीठो छ उसको अनुभूतिको रुपमा, जसले जिन्दगीको महत्व सिकाउँछ र जीवन जिउन योग्य बनाउँछ । सच्चा प्रेम त्यही हो जसले आपतमा सहयोग गर्छ, जो जहाँ एकअर्काका लागि तन, मन, धन सबै किसिमले सहयोग, समर्पण गर्न र संघर्ष गर्न सक्ने क्षमता हुन्छ, अनि एकअर्काप्रति अटुट विश्वास र दृढ निश्चय हुन्छ । माया आकासभन्दा असीम छ, सागरभन्दा गहिरो छ, पवनझैँ चञ्चल अनि सामुद्रिक पानीभन्दा कञ्चन छ । माया अपार छ, विशाल छ अनि माया महान् पनि छ ।

मायामा आत्मीयता छ, मधुरता छ, विशालता छ अनि मायामा भावुकता पनि छ । मायाको उद्गम बिन्दु एउटै हो । माया विश्वास हो, मायामा आत्मसन्तुष्टि, सद्विचार, सद्भावना र सद्चरित्र छ भन्ने कुरामा दुई मत नहोला । मायामा समर्पण, दया, करूणा, सहयोगी भावना हुनैपर्छ । मायामा सुख, आनन्द र सारा संसारको खुसी छ ।

प्रेम आफैँमा एक यस्तो चीज हो, जसमा भावना र अनुभव जोडिएको हुन्छ । प्रेममा परेका मानिसहरुलाई यस्तो लाग्छ, मानौँ उसको वरिपरि चारैतिर मात्र प्रेम छ । तर, लामो समयसम्म चल्ने प्रेम नै ‘दीर्घकालीन प्रेम’ हो । यस्तो प्रकारको प्रेम बढी नै भावनात्मक हुन्छ । म त्यसरी जोडिएको प्रेममा पीडाको अलावा अरु केही पाउँदैन् होला भन्ने चिन्तामा डराउँछु । हुन त माया गर्नेहरुले एकअर्कालाई राम्ररी बुझेर अगाडि बढ्न सक्नु नै जिवन सार्थक बनाउनु हो । तर पनि फेसबुकबाट जोडिएको मायालाई सार्थक बनाउन अझैपनि केही कसर बाँकी नराख्ने पक्षमा छु ।

भन्छन् नि– ‘दुइ तरवारको बीचको घरवार ।’ र, पनि फोसबुकको म्यासेन्जरमा र मोबाइलको स्पिकरमा उपस्थिति हुन नसकेपनि वास्तविक जिवनमा हाम्रो उपस्थिति दरिलो बनोस् भन्ने कामना गरेको छु । मलाई अझैपनि थाहा छैन, त्यो मनमा मेरो लागि के छ रु तर, आशा छ, कुनै दिन कुनै समय कुनै पल मेरो लागि माया अवश्य पलाउने छ । म तिमीलाई चाहिरहनेछु । मूर्तरुपमा त तिमी मेरो सामु छैनौ । तर, हरेक अमूर्त वस्तुमा म तिमीलाई महसुस गरिरहनेछु । बसन्तको हरेक पालुवामा, वर्षाको हरेक थोपामा, हेमन्तको जाडोमा, गृष्मको न्यानोमा, शिशिरको सरसर हावामा, सरदको रमझममा म तिम्रो नै आभाष गर्नेछु । आफ्नो जीवन रहुञ्जेल केवल तिमीसँग प्रेम गर्नेछु । तिमी मेरो लागि हिजो प्रिय थियौ, आज प्रिय छ्यौ, अनि भोलि पनि हुनेछ्यौ ।

एकचोटी माया गरिसकेको, मन मुटु साटिसकेको मान्छे उत्ति नै प्यारो र प्रिय हुँदोरै’छ । तिमीप्रति त्यति धेरै गुनासो पनि छैन, न त रिस नै । तिमीले गरेको वाचा पूरा हुनका लागि तत्काल सम्भव नभएपनि यो कोरोनाको कहरले चुनौति थपिरहेको छ । हेरौँ कोरानाको कहर साम्य भएपछि हाम्रो भौतिकरुपमा भेट हुने आशा भने मारिसकेको छैन् । पटकपटक थपिँदै गएको लकडाउनले हाम्रो भेटलाई अनिश्चिततको भूमरीमा धकेलिरहँदा कताकता मन अमिलो भने भइरहेको छ ।

कोरोनाबाट बच्न सकिएछ भने अवश्य तिमीले गरेका वाचा अनुसारका हाम्रा सपनाहरु पूरा हुनेछन् भन्ने अपेक्षा मनभित्र जिवितै छन् । तर, जतिजति लकडाउनको समयावधि थपिँदै जान्छ, त्यतित्यति यो मनले फेसबुकमा जोडिएको सम्बन्ध फेसबुकमै रुमल्लिने हो कि सार्थकता पाउने होला ? भन्ने उकुसमुकुस बढ्दै गएको छ । तरपनि फेसबुकमा जोडिएको हाम्रो सम्बन्धलाई मुटुभरि संगालेर राखेको छु मैले अनि हाम्रो मायाका सम्झनाहरु मस्तिष्कमा पनि ।