सेनाको छाउनी अस्पतालमा आइसोलेशनसहित कोरोना सङ्क्रमितको उपचारकोलागि सम्पूर्ण तयारी पूरा (भिडियाे)

सेनाको छाउनी अस्पतालमा आइसोलेशनसहित कोरोना सङ्क्रमितको उपचारकोलागि सम्पूर्ण तयारी पूरा (भिडियाे)

काठमाडौं, २६ वैशाख । विश्वव्यापी महामारीको रुप लिइरहको कोभिड–१९ बाट सङ्क्रमितको उपचारका लागि नेपाली सेनाले छाउनीस्थित श्री वीरेन्द्र अस्पतालमा सम्पूर्ण तयारी पूरा गरेको छ ।

कोभिड–१९ का सम्भावित बिरामीको पहिचान, परीक्षण, आइसोलेशनसहित चिकित्सकको प्रत्यक्ष निगरानीमा राख्नुपर्ने सङ्क्रमितको उपचारमा गर्नुपर्ने तयारी पूरा गरेको हो ।

छाउनीस्थित अस्पताल प्रवेशदेखि नै उच्च सतर्कताका साथ उपचार गर्ने व्यवस्था मिलाइएको छ । अस्पताल प्रवेश गर्नुअघि प्रवेशद्वारमा दुईवटा स्वचालित धारा जडान गरिएको छ ।

जहाँ पानी खोल्न र बन्द गर्न हातले छुनुपर्ने छैन । सेनाले यसअघि देखिनै अनिवार्यरुपमा साबुनपानीले हात धोएर मात्र अस्पतालमा प्रवेश गराउँदै आएको छ ।

हात धोएर अस्पताल प्रवेश गर्नेको प्रवेशद्वारामा नै ‘थर्मल गन’द्वारा तापक्रम नाप्ने प्रबन्ध मिलाइएको छ । बिरामी तथा सेनाका कर्मचारी प्रवेश गर्ने भएकाले प्रवेशद्वारा उच्च सावधानी अपनाइएको महासेनानी डा. सुनिता पन्तले बताउनुभयो । सरकारको निर्देशन अनुसार नै फिवर क्लिनिक सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो ।

यदि कुनै बिरामीलाईमा कोभिड–१९ सङ्क्रमण भएको शंका लागेमा क्लिनिकसँगै रहेको ‘स्वाव बुथ’ बाट स्वाव झिक्ने र परीक्षणका लागि पठाउने व्यवस्था मिलाइएको छ । छाउनी अस्पताललाई उक्त स्वाब बुथ राष्ट्रिय आविष्कार केन्द्रले उपलब्ध गराएइको हो ।

शंकास्पद बिरामीलाई अस्पताल परिसरमा बनाइएको आइसोलेसन वार्डमा भर्ना गरिन्छ । सेनाले जिओओपिडी सञ्चालन गर्ने उद्देश्यले निर्माण गरेको भवनलाई तत्कालका लागि कोभिड–१९ का बिरामीको उपचार गर्ने गरी रुपान्तरण गरेको छ ।

त्यस्तै कोरोना संक्रमण रोकथाममा खटिएका चिकित्सहरुलाई आवश्यक तालिम पनि दिइएको महासेनानी डा‍. मुन थापाले जानकारी दिनुभयो ।

नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका डा. जयन्द्र बज्राचार्यले फिल्डमा जाने तथा अस्पतालमा कार्यरत जनशक्तिलाई कोभिड–१९ पूर्वतयारीका बारेमा जानकारी दिइएको बताउनुभयो ।

भिडियाे हेर्नुहाेस्