भैरहवा विमानस्थललाई एडीबीले पैसा रोक्यो

भैरहवा विमानस्थललाई एडीबीले पैसा रोक्यो

भैरहवा । राष्ट्रिय गौरवको गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामबाट लगानीकर्ता एसियाली विकास बैंकले हात झिक्ने भएको छ। 

नेपाल नागरिक उड्यन प्राधिकरणका महानिर्देशक संजीव गौतमले काम चित्तबुझ्दो नभएको भन्दै बैंकले गत जनवरीदेखि पैसा नदिएको जानकारी दिए।

उनले भने, ‘एडीबीले पैसा नदिए पनि नेपाल सरकारले आफ्नै लगानीमा विमानस्थल बनाउँछ।’ सन् २०१९ भित्र सञ्चालनमा ल्याउने गरी विमानस्थल निर्माणको काम अगाडि बढाउने उनले बताए।

‘पैसाको अभावमा काम रोकिन दिँदैनौं’, महानिर्देशक गौतमलेले भने, ‘निर्माण कम्पनीको ठेक्का रद्द गर्दा काम समयमा सम्पन्न गर्न सकिँदैन। लागत पनि बढ्छ। कामलाई जसरी भए पनि तीव्रता दिनु हाम्रो दायित्व हो।’

गौतमवुद्ध विमानस्थल निर्माणमा भएको ढिलाइले देशको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे सुधार योजना समेत अलपत्र परेको छ। रनवे टालटुलका भरमा सञ्चालन हुँदै आएको छ।

गत शुक्रबार एडीबीको काठमाडौंमा भएको ‘रिभ्यूमा मिटिङ’ मा दुई विमानस्थलको प्रगति संतोषजनक नभएका निष्कर्ष निकालिएको थियो।

लगानीका विषयमा एडीबीसँग पटकपटक छलफल भएको महानिर्देशक गौतमले बताए। उनले भने, ‘यस विषयमा एडीबी सकरात्मक छैन।’ विमानस्थलको काम सन्तोषजनक नभएका कारण केही महिनाअघि एडीबीले प्राधिकरणलाई ऋण र अनुदान रोक्ने चेतावनीसहितको पत्र पठाएको थियो।

एडीबीको वार्षिक समीक्षा बैठकले लगानी गरिरहेको निर्माणाधीन भैरहवा विमानस्थलको अगामी मार्च १५ तारिखमा स्थलगत अवलोकन गर्ने निर्णय गरेको छ। स्थलगत अवलोकन गर्ने र अवलोकन पश्चात थप लगानी गर्ने या नगर्ने भन्ने निर्णय गर्ने भैरहवा विमानस्थल आयोजनाका प्रमुख ओम शर्माले जानकारी दिए ।

उनले एडीबीले अवलोकन गरे पश्चात पनि विमानस्थलमा लगानी गर्नबाट पछि नहट्नेमा आफू विश्वस्त रहेको बताए। चिनियाँ कम्पनी आफैले सुरु गरेपश्चात तीव्र रूपमा काम भइरहेको उनले बताए।

उनले विमानस्थलको काम सन्तोषजनक नभएका कारण एडीबीले असन्तुष्टि जनाए पनि लगानीबाट हात झिकिहाल्ने अवस्था नरहेको दाबी गरे।

६ अर्ब २२ करोड ५१ लाख २० हजार रुपैया“ लगानीमा निर्माणाधीन गौतम बुद्ध विमानस्थलमा एडीबीको ४०।५ प्रतिशत ऋण र १८ प्रतिशत अनुदान लगानी छ। यस्तै ओपेक फन्ड फर इन्टरनेसनल डेमलपमेन्टको ३०.५ प्रतिशत र थप ११ प्रतिशत तथा मूल्य अभिवृद्धि कर नेपाल सरकारले लगानी गर्ने हो।

हालसम्म एडीबीले एक अर्ब ५० करोड भुक्तानी गरिसकेको आयोजना प्रमुख शर्माले बताए। विमानस्थलमा रनवे, टर्मिनल भवन, रेस्क्यु एन्ड फायर फाइटिङ, कन्ट्रोल टावर, प्रशासनिक भवन, ओभरहेड ट्यांकीलगायत काम तीव्र गतिमा भइरहेको बताए।

२०२३ सालमा भारत सरकारको सहयोगमा निर्मित गौतमबुद्ध विमानस्थललाई स्तरोन्नति गरी अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा निर्माण गर्न चिनियाँ कम्पनीको नर्थ वेस्ट सिभिल एभिएसनले ६ अर्ब २२ करोड ५१ लाख २० हजार रुपैया“मा ग्लोबल टेन्डरबाट सन् २०१७ डिसेम्बर ३१ सम्म सम्पन्न गर्ने सम्झौता गरेको थियो।

तर, मधेस आन्दोलन कारण विमानस्थल निर्माण कार्यमा बाधा उत्पन्न भएकाले उसले सन् २०१८ जुलाई महिनासम्म निर्माण पूरा गर्ने जनाएको छ।  साभार: अन्नपूर्ण पोष्ट दैनिक