ओली सरकारले राष्ट्रियसभामा सिफारिस गरेका तीन सदस्यको सपथ रोक्न सर्वोच्चकाे आदेश

ओली सरकारले राष्ट्रियसभामा सिफारिस गरेका तीन सदस्यको सपथ रोक्न सर्वोच्चकाे आदेश

काठमाडौं, १३ फागुन । सर्वोच्च अदालतले राष्ट्रियसभा सदस्यमा मनोनित तीन सदस्यको सपथ रोक्न अन्तरिम आदेश दिएको छ । 

आज न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले राष्ट्रियसभा सदस्यमा मनोनित डा. युवराज खतिवडा, रामनारायण विडारी र डा. विमला पौडेलको सपथ रोक्न भनेको हो । सर्वोच्चले अन्तरिम आदेशको छलफलबाट टुंगो नलागेसम्म तीन जनाको सपथ रोक्न भनेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यको सपथ २० गते हुँदैछ ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभाका लागि सिफारिस गरेर ओलीसरकारले फिर्ता गरेका  चाँदनी जोशी, कृष्णप्रसाद गौतम र गोपाल बस्नेतले दिएको रिटमा सर्वोच्चले यस्तो आदेश गरेको हो।

उनीहरुलाई अघिल्लो सरकारले सिफारिस गरेपनि  राष्ट्रपतिले अनुमोदन नगरि होल्ड गरेर राखेकी थिइन्। ओली नेतृत्वको सरकार आएपछी उनीहरुको नाम फिर्ता गरेर रामनारायण विडारी, यूवराज खतिवडा र विमला पौडेललाई सिफारिस गरेको थियो। उक्त सिफारिस राष्ट्रपति भण्डारीले अनुमोदन गरेकी थिइन्।

यसरी आफुले रुचाएको सरकारले गरेको सिफारिस कुरेर बस्ने अधिकार राष्ट्रपतिलाई नभएको भन्दै देउवासरकारले सिफारिस गरेका तीनैजनाले दिएको रिटमा उल्लेख  छ।