‘लकडाउन थप्दै गएर मात्रै अभिभावकको दायित्व पुरा हुँदैन’– कांग्रेस नेता राणा

‘लकडाउन थप्दै गएर मात्रै अभिभावकको दायित्व पुरा हुँदैन’– कांग्रेस नेता राणा

काठमाडौं, १६ वैशाख । नेपाली कांग्रेसका युवा नेता एवं पूर्व अर्थराज्यमन्त्री उदयशम्शेर राणाले लकडाउन लम्ब्याएर मात्रै जनताको अभिभावक सरकारको जिम्मेवारी पुरा नहुने बताएका छन् ।

उनले कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन अत्यावश्यक भएपनि सरकार लकडाउन लम्ब्याएर आफ्नो दायित्वबाट पन्छिन खोजेको दावी गरे । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा नेता राणाले सरकारलाई लकडाउनसँगै राहत र उद्धारका कार्यक्रम ल्याउन माग गरेका छन् ।

उनले आमनागरिकले लकडाउन पालना गरेर सरकारलाई साथ दिइरहेको उल्लेख गर्दै सरकारलाई पनि नागरिकको स्वास्थ्यप्रति जिम्मेवार बन्न आग्रह गर्दै आधा दर्जन प्रश्न सोधेका छन् ।

‘कोरोना संक्रमण फैलिन नदिन लकडाउनको विकल्प थिएन, आमनागरिकले पालना गरेकैं छौं । तर लकडाउन लम्ब्याएर मात्रै सरकारको दायित्व पूरा हन्छ त रु’ उनले भनेका छन्, ‘स्वास्थ्यकर्मीलाई पर्याप्त गुणस्तरीय स्वास्थ्यसामग्री खोई रु’

राणाले कोरोना परीक्षणको दायरा बढाउनसमेत सरकारसँग माग गरेका छन् । ‘करिव तीन करोड नागरिकमध्ये जम्मा ५० हजारको कोरोना परीक्षण अनि बाँकीको कहिले ?’ उनको प्रश्न छ । त्यस्तै लकडाउनमा घरभित्रै बसेका र सडकमा अलपत्र नागरिकलाई उद्धार र राहत दिन ढिलाई भइरहेकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् भने कोरोनाबाट प्रभावित क्षेत्रलाई आर्थिक प्याकेज छिटो ल्याउन पनि माग गरेका छन् ।

कोरोनासँग लड्नुपर्ने बेला सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउँदै राणाले कानुनको पालना र कार्यान्वयन गराउनुपर्ने सरकार आफै कानुनी शासनको धज्जी उडाउन लागिपरेको दावी गरे। ‘नागरिकलाई निर्देशन दिने सरकार आफू पनि नागरिकप्रति जिम्मेवार बन्ने कि ?’ भन्दै सरकारलाई प्रश्न गरेका छन् ।