काठमाडौं । नेपालका गान्धीवादी कांग्रेस नेता महेन्द्र नारायण नीधिको आज ९६ औं जन्म दिन । नीधिको जन्म दिन आज विविध कार्यक्रमहरुको आयोजना गरि मनाइयो । यसैक्रममा महेन्द्र नारायण नीधि मेमोरियल अस्पताल र महेन्द्र नारायण नीधि प्रतिष्ठानले आज बसुन्धारास्थित महेन्द्र नारायण नीधि मेमोरियल अस्पतालको सभाहलमा एक कार्यक्रमको आयोजना गर्यो ।
पूर्व मन्त्री होमनाथ दाहालको प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा दाहालले महेन्द्र नारायण नीधि शान्तिवादी, गान्धीवादी नेता भएको र अहिलेको अवस्थामा उहाँ जस्तो नेताको खाँचो रहेको बताए ।
कार्यक्रममा नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर, नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष रमा पौडेल, वरिष्ठ पत्रकार रामनारायण देव, अस्पतालका उपाध्यक्ष शालिकराम मिश्र, नेपाली कांग्रेसका युवा नेता बसन्त श्रेष्ठ, महिला संघकी नेतृ नानुमैया बाँस्तोला, राष्ट्रिय सहकारी संघका सञ्चालक चन्द्रप्रसाद ढकाल लगायतका वक्ताहरुले महेन्द्र नारायण नीधिको व्यक्तित्वमाथी चर्चा गर्नुभएको थियो । महेन्द्र नारायण नीधि प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम दाहालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
१९७८ साल फागुन १३ गते शिवरात्रीका दिन धनुषा जिल्लाको नगराईनमा नीधिको जन्म भएको थियो । सामान्य किसान परिवारमा जन्मेका नीधि अहिंसावादी र राष्ट्रवादी नेताका रुपमा परिचय बनाएका थिए । उनलाई नेपालका गान्धी समेत भन्न गरिन्थ्यो । २०१५ सालको पहिलो प्रतिनीधिसभाका उपसभामुख, २०४७ सालको अन्तरिम सरकारमा जलस्रोत मन्त्री तथा नेपाली कांग्रेसको महामन्त्रीको भुमिका निर्वाह गरेको नीधिको २०५६ साल बैशाख २० गते जनकपुरमा निधन भयो ।
२०१७ सालमा वीपी कोइरालाको सरकारलाई अपदस्थ गरि राजा महेन्द्रले प्रजातन्त्रमाथि कु गरेपछि प्रक्राउ नपरी र प्रवासमा समेत नगई नेपालमा नै बसेर नीधिले आन्दोलन अगाडि बढाएका थिए । राजाको कु पनि तत्कालिन अवस्थामा ससस्त्र क्रान्ति गर्ने सुवर्णशम्सेरको नीतिको विपरित उभिएका नीधिले २०३१ सालमा वीपी कोइरालाले ससस्त्र क्रान्तिको नीति लिदा समेत ससस्त्र क्रान्तिको विपक्षमा उभिएका थिए ।
२०२५ सालमा वीपी कोइराला र गणेशमान सिंह जेलमुक्त भएर निर्वासनमा जाने विषयमा सल्लाह खोज्दा समेत नीधिले सो नीतिको विरोधमा देखिएका थिए । हिंसात्मक आन्दोलन र विदेशी भुमिबाट गरिने आन्दोलनले मुलकको हित नहुने विचार नीधिको थियो ।