काठमाडौं, १४ वैशाख । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गएको चैत्र ११ गतेदेखि गरेको लकडाउन जारी छ । यो अवधिमा केही उल्लंघनका घटनाबाहेक जनताले सरकारलाई साथ दिएका छन् ।
विगत एक महिनादेखि लकडाउनका कारण काठमाडौं उपत्यकालगायत मुलुकका मुख्य शहर सुनसान छन् । सरकारले घोषणा गरेको लकडाउनको अवधि मन्त्रिपरिषद बैठकले बैशाख १५ सम्मका लागि बढाएको थियो ।
लकडाउनका कारण अहिले देशभर सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कुटनीतिक नियोग, एम्बुलेन्स, अत्यावश्यक र जिल्ला प्रशासनबाट अनुमति लिएका गाडी मात्र चलिरहेका छन् । अरु गाडी चलाउन र अत्यावश्यक नपरि हिँडडुलमा पनि रोक लगाइएको छ ।
लकडाउनको अवधिमा अत्यावश्यक बाहेकका काममा हिँडडुल गर्नेलाई प्रहरीले कारबाही गर्ने गरेको छ । लकडाउन तोड्दै सवारी चलाउने भने बढेका छन् ।
धेरैजसो मुख्य सडकमा आवतजावत ठप्प छ भने भित्रि सडकमा सामान्य चहलपहल छ । प्रहरीले घर बाहिर ननिस्किन तथा उच्च सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ ।