काठमाडौँ, १४ वैशाख । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले विवादास्पद ओम्नी समूहसँग स्वास्थ्य सामाग्री खरिद गर्दा भएको भनिएको अनियमिताबारे छानविन शुरु गरेकाे छ ।
समितिले सो सम्बन्धमा सम्पूर्ण कागजात तथा विवरण सात दिनभित्र समिति सचिवालयमा उपलब्ध गराउन र प्रतिक्रिया माग गरी आज मन्त्रालयलाई पत्राचार गरेको हो । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्ने उद्देश्यले मन्त्रालयले विभागमार्फत बिनाप्रतिस्पर्धा ओम्नी विजनेश कर्पोरेट इन्टरनेशनलसँग स्वास्थ्य उपकरण तथा आवश्यक सामग्री खरिद गर्ने कार्य अघि बढाइएकामा सो खरिद सम्झौता पछि रद्द गरेको थियो ।
सो सम्बन्धमा समितिले छानबिनकार्य अघि बढाउन आवश्यक देखेकाले त्यसमा मन्त्रालयको प्रतिक्रिया र त्यसलाई पुष्टि हुने आवश्यक कागजात तथा खरिद प्रक्रियामा भए गरेको सम्पूर्ण कागजात उपलब्ध गराइदिन निर्देशानुसार अनुरोध गरिएको समिति सचिव डा रोजनाथ पाण्डेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।