कोभिड–१९ विरुद्ध लड्ने बेला गुट र फुटमा नलाग्न सरकारलाई सुशासन समितिको ध्यानाकर्षण (भिडियो)

कोभिड–१९ विरुद्ध लड्ने बेला गुट र फुटमा नलाग्न सरकारलाई सुशासन समितिको ध्यानाकर्षण (भिडियो)

काठमाडौं, १२ वैशाख । राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले कोरोना भाइरस संक्रमणविरुद्ध लड्ने बेला गुट र फुटमा नलाग्न सरकारको ध्यानाकर्षण गराएको छ । सिंहदरबार शुक्रबार बसेको समितिको बैठकमा कोरोनाले नेपालमा परेको प्रभाव र यसको प्रभावकारी समाधानको विषयमा छलफल गर्दै विषम परिस्थितिमा गुट र फुटतर्फ ध्यान नदिन सरकारको ध्यानाकर्षण गराएको हो ।

बैठकपछि समिति तारादेवी सभापति भट्टले सरकारले कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा ध्यान दिनुपर्ने बताउनुभयो । परिस्थितिमा गुट र फुटतर्फ ध्यान गर्न नहुने र संविधान विपरीत जाने छुट कसैलाई नरहेको उहाले बताउनुभयो । छलफलमा सहभागी सांसदहरुले भारतीय भूमिमा रहेकालाई स्वदेश फर्किन नदिएको, कोरोना परीक्षणको दायरा कम भएको लगायतका विषयमा असन्तुष्टि राखेका थिए ।

राष्ट्रियसभामा नेकपा संसदीय दलका नेता दिनानाथ शर्माले भारतीय सीमामा रोकिएकालाई स्वदेश ल्याउन, शहरी मजदुरलाई खाने बस्ने प्रवन्ध मिलाउन र कोरोना संक्रमित फेला परेका क्षेत्रमा परीक्षणको दायरा बढाउनुपर्ने बताउनुभयो । बैठकमा सहभागी कांग्रेस सांसद रमेशजंग रायमाझीले कोरोनाको संकटको बेला सरकार अन्य काममा नै अल्झेको र सरकारले अन्यत्रै ध्यान मोड्न खोजेको आरोप लगाउनुभयो ।

कोरोना प्रभावित क्षेत्रमा चिकित्सक, स्वास्थ्यकर्मी र स्वास्थ्य सामग्री अभाव भएको भन्दै सांसदहरुले तत्काल पर्याप्त व्यवस्था गर्न सरकारलाई सुझाव दिएका थिए । बैठकमा सांसदहरुले कोरोना रोकथाम तथा नियन्त्रणमा तीन तहबीच तालमेल नमिलेको र कोरोनाको जोखिम क्षेत्र निर्धारण गरेर कहिँ खुकुलो तथा कहिँ कसिलो बनाउनुपर्ने बताएका थिए ।

भिडियाे हेर्नुहाेस्