‘अध्यादेश फिर्ता लिनुभो धन्यवाद, अब सांसद ‘अपहरण’मा संलग्नलाई कारवाही गर्नूस्’: देउवा

‘अध्यादेश फिर्ता लिनुभो धन्यवाद, अब सांसद ‘अपहरण’मा संलग्नलाई कारवाही गर्नूस्’: देउवा

काठमाडौं, १२ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अपहरण शैलीमा सांसदलाई काठमाडौं ल्याइएको घटनामा संलग्नलाई कारबाही गर्न प्रधानमन्त्रीसँग माग गरेका छन् ।

शुक्रबार प्रधानमन्त्रीलाई भेटेर पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले सांसद अपहरणमा संलग्नलाई कारवाहीको माग देशभर उठेको भन्दै आफ्नो माग पनि त्यही भएको सुनाएका थिए ।देउवाले मुलुकमा कानुनी शासन रहेको आश्वस्त पार्न पनि सांसद अपहरण घटनामा संलग्नलाई कारबाही गर्नैपर्नेमा जोड दिएका थिए ।

‘दुबै अध्यादेश फिर्ता लिएर गल्ती सच्याउनुभयो, त्यसका लागि धन्यवाद छ,’ देउवाले प्रधानमन्त्रीसँग भने, ‘तर एक सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याउन जो संलग्न छन्, तिनलाई कार्वाही गर्नुपर्ने माग देशभरी उठेको छ । मेरो माग यहि छ । देशमा कानूनी राज्य छ भने निष्पक्ष अनुसन्धान र कार्वाही हुनुपर्छ ।’

समाजवादी पार्टी विभाजन गर्न प्रधानमन्त्रीको निर्देशनमा सत्तारुढ दल नेकपाका सांसद एवं पूर्वमन्त्री महेश बस्नेत, तनहुँका सांसद किसन श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समाजवादीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण शैलीमा काठमाडौं ल्याएको आरोप लागेको छ ।

प्रधानमन्त्रीले दल विभाजन खुकुलो बनाउने गरी अध्यादेश ल्याएको अर्काे दिन मंगलबार सांसदद्वय बस्नेत, श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक खनाल महोत्तरी पुगेका थिए । उनीहरुले पूर्वस्वास्थ्यराज्यमन्त्री यादवलाई आफ्नो गाडीमा राखेर रातारात काठमाडौं ल्याएका थिए ।

बुधबार बिहान ३ बजे काठमाडौंका पुगेका उनीहरु नक्सालस्थित मेरियटल होटलमा बसेका थिए । सांसद यादवले आफू बिहान मर्निङवाकमा जाने बहानामा होटलबाट भागेको सञ्चारमाध्यमलाई बताइसकेका छन् ।

वैशाख १२, २०७७

बालुवाटार भेटघाट बारे प्रेस नोट

नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवा र प्रधानमन्त्री श्री के.पी. शर्मा ओली बीच आज प्रधानमन्त्रीको निमन्त्रणामा बालुवाटारमा भेटघाट सम्पन्न भएको छ । भेटका क्रममा सभापति देउवाले निम्न कुरा प्रधानमन्त्री समक्ष राख्नुभएको छ ।

(१) दुबै अध्यादेश फिर्ता लिएर गल्ती सच्याउनु भयो, त्यसका लागि धन्यवाद छ । तर एक सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याउन जो संलग्न छन्, तिनलाई कार्वाही गर्नुपर्ने माग देशभरी उठेको छ । मेरो माग यहि छ । देशमा कानूनी राज्य छ भने निष्पक्ष अनुसन्धान र कार्वाही हुनुपर्छ ।

(२) ब्यापक परिक्षण अहिलेको आवश्यकता हो ।
समुदाय स्तरमा व्यापक परिक्षण गर्न ढिलो नगरौं ।

(३) स्वास्थकर्मीहरुलाई पीपिइ लगायतका सामग्री अझै पर्याप्त पुगेको छैन । यथासिघ्र पु¥याउनु
प¥यो । स्वास्थकर्मीलाई हतोत्साहित गर्न खोज्ने काम कतिपयले गरेको सुनिन्छ, त्यसलाई तुरुन्तै रोक्नुपर्छ ।

(४) श्रमिकलाई कि खान दिनोस् कि गाउँ जान दिनोस् ।
ड्ड राहत घोषणा अधुरो भयो, पुग्नु पर्नेकोमा अझै पुगेन ।
ड्ड श्रमिक, बेरोजगार, विद्यार्थी र साना ठुला सबै ब्यवसायीका लागि तत्काल अर्को प्याकेज ल्याउनोस् ।

(५) बिदेशमा रहेका नेपालीले हिजो देशलाई रेमिटेन्स पठाएर योगदान गरे, आज उनीहरु अप्ठ्यारोमा परेका छन् । त्यस्तो स्थितिमा रहेका नेपालीलाई उद्दार गर्ने बारे तत्काल योजना सार्वजनिक गर्नोस् र कार्यान्वयन थाल्नोस् ।

सभापति देउवाले कोरोनाको जोखिमसंग लडिरहंदा अब बिवादका कुनै कुरा नल्याउन तपाईंलाई मेरो सुझाव छ, भनेर प्रधानमन्त्रीलाई थप सजग पनि गराउनु भएको छ ।

कृष्णप्रसाद पौडेल
मुख्य सचिव
नेपाली कांग्रेस