काठमाडौं, १२ वैशाख । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विवादास्पद दुई अध्यादेश खारेज गर्नुभएको छ । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले आज एक विज्ञप्ति जारी गर्दै संविधानको धारा ११४ को उपधारा २ को खण्ड ख बमोजिम राष्ट्रपति भण्डारीले अध्यादेशहरु खारेज गर्नुभएको उल्लेख गर्नुभएको छ ।
संवैधानिक परिषदको काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश २०७७ र राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन अध्यादेश २०७७ राष्ट्रपतिबाट खारेज भएको हो ।
आज बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो । दल फुटाउन सहज हुने र संवैधानिक परिषद्को बैठकमा विपक्षी दलको भूमिका अन्त्य गर्ने अध्यादेश ल्याएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको चौतर्फी आलोचना भएको थियो । दुई अध्यादेशले राजनीतिक दललाई विभाजन गर्न सजिलो हुने र संवैधानिक आयोगमा नियुक्ति गर्दा प्रमुख प्रतिपक्षी दलका नेतालाई बाहिर राख्ने भन्दै चर्को विराेध भएको थियो।
आफ्नै दलभित्रबाट समेत व्यापक असन्तुुुष्टि आएपछि प्रधानमन्त्री अध्यादेश फिर्ता लिन सहमत हुनुभएको थियो । सरकारले वैशाख ८ गते राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेको थियो । दुबै अध्यादेश सोही दिन राष्ट्रपतिबाट प्रमाणित भएर राजपत्रमा प्रकाशित गरिएको थियो ।