छलफलमै सीमित नयाँ हवाई प्रवेश विन्दु

छलफलमै सीमित नयाँ हवाई प्रवेश विन्दु

काठमाडौं । नेपालले भारतीय नागरिक उड्डयनसँग नयाँ हवाई प्रवेश विन्दुका लागि छलफल सुरु गरेको दुई वर्ष पुग्नै लाग्दा पनि कुनै प्रगति भएको छैन। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणले २०१६ डिसेम्बरदेखि छलफल सुरु गरे पनि नयाँ हवाई प्रवेश विन्दुको विषय ओझेलमै छ।

नयाँ हवाई विन्दु नपाउँदासम्म नेपालले पूर्व र पश्चिमबाट आएका सबै जहाज सिमराबाट प्रवेश गरी काठमाडौं, पोखरा, भैरहवा र निजगढ विमानस्थलमा अवतरण गराउनुपर्ने बाध्यता हुनेछ।

भारतीय पक्षसँग पूर्वका देशबाट आउने जहाज प्रवेशका लागि जनकपुर र विराटनगर विन्दु माग गरे पनि भारतीय पक्षले अहिलेसम्म स्वीकृति दिएको छैन। यसैगरी पश्चिमतर्फका देशबाट आउने जहाजका लागि नेपालले भारतीय पक्षसँग नेपालगन्ज प्रवेश विन्दु माग गरेको छ।

नेपालगन्ज प्रवेश विन्दुका विषयमा भारतीय पक्ष सकारात्मक छैन। भारतीय पक्षले नेपालगन्ज प्रवेश विन्दु दिन त्यस क्षेत्रमा आर्मी वेस क्याम रहेको भन्दै आलटाल गरिरहेको छ। तर, भैरहवा प्रवेश विन्दुका विषयमा भने भारतीय पक्ष सकारात्मक रहेको प्राधिकरणका एयर ट्राफिक व्यवस्थापन विभाग प्रमुख दीपक बराल बताउँछन्।

भारतीय पक्षले भैरहवा विन्दु दिँदा धेरै उचाईबाट दिने हुँदा सिमराबाट भइरहेको प्रवेश विन्दुभन्दा खासै फरक नपर्ने प्राधिकरणको भनाइ छ। नेपालका लागि सबैभन्दा उपयुक्त नेपालगन्ज प्रवेश विन्दु हो। तर, भारतीय पक्षले नेपालगन्ज विन्दुको सट्टा अन्य विन्दु स्वीकृतिका लागि आग्रह गरेको बराल बताउँछन्।

फेरि नयाँ हवाई प्रवेश विन्दुका विषयमा छलफलका लागि भारतीय पक्षले कोलकात्तामा बैठक गर्ने निर्णय गरिसकेको छ। तर, समय भने तय भएको छैन। अबको छलफलमा नेपालका तर्फबाट भारतीय पक्षसँग नेपालगन्ज, भैरहवा, जनकपुर, विराटनगर र युरोप तथा पश्चिमका देशबाट आएका जहाजले महेन्द्रनगरबाट इन्ट्री हुँदै पूर्वको मेची विन्दुबाट आउट हुँदै पूर्वका देशमा जाने पाउने गरी नयाँ विन्दुका लागि छलफल हुने बराल बताउँछन्। अहिले नेपालको पूर्वमा पर्ने देश बंगलादेश, भारतको कोलकात्ता, थाइल्यान्ड , सिंगापुर, मलेसियालगायत देशबाट आउने जहाज रोमियो ५८१ रुट हुँदै सिमरा इन्ट्री भएर काठमाडौंका अवतरण गरिरहेका छन्।

यसैगरी नेपालबाट पश्चिमबाट आउने जहाज, दिल्ली, युरोप तथा अमेरिकाबाट आउने जहाजले गल्फ ५८९ रुट हुँदै सिमरा इन्ट्री भएर काठमाडौं अवतरण गर्छन्। भुटानलगायत पारोबाट आउने जहाज मेची इन्ट्री विन्दुबाट छिरेर तुम्लिङटार आउँदै काठमाडौं अवतरण गर्छ।

चीनको ल्हासाबाट आउने जहाज भने ब्राबो ३४५ रुट हुँदै नुनिम विन्दुबाट नेपाल छिरेर तुम्लिङटार हुँदै काठमाडौं अवतरण हुने गरेको बराल बताउँछन्।

यसैगरी नेपालबाट पश्चिम तर्फका देश र दिल्ली जाने जहाजका लागि भने दुई वटा रुट छन्। एउटा काठमाडौंबाट उडेर भैरहवा हुँदै निस्कने र अर्को काठमाडौंबाट महेन्द्र नगर हुँदै बाहिर निस्कने आउट विन्दु रहेको बराल बताउँछन्। तर, बढी मात्रामा जहाज महेन्द्र नगर भएर बाहिरने गर्छ।

यसैगरी पूर्वका देश जानेको हकमा भने विराटनगर विन्दु मात्रै हो। नेपालबाट कोलकात्ता हङकङ र कोरिया जाने जहाजले यही विन्दु प्रयोग गर्छन्। पारो जान परेको अवस्थामा भने काठमाडौंबाट तुम्लिङटार हुँदै मेची विन्दुबाट बाहिरिने गर्छन् भने चीनको ल्हासा जाने जहाज जुन बाटो भएर आएका छन् त्यही बाटो जाने गरेको बराल बताउँछन्। तर, हामीले अहिले पोखरा, भैरहवा र निजगढमा विमानस्थल बनाउँदै छौं।

यी विमानस्थलमा आउने आउने जहाजका लागि सिमरा हुँदै आएर अवतरण गर्दा दूरी लामो पर्छ। प्रायः पश्चिमबाट आउने जहाज दिल्ली भएर नै आउँछन्। दिल्ली हुँदै आएको जहाज सिमरा हुँदै काठमाडांै, पोखरा, भैरहवा र निजगढ जाने दूरी लामो पर्छ। यी विमानस्थलमा आउने जहाजका लागि सहज र छोटो दूरी नेपालगन्ज प्रवेश विन्दु नै हो। नेपालगन्ज प्रवेश विन्दु पाएको अवस्थामा एयरलाइन्स कम्पनीलाई पनि दूरी छोटोपर्ने र सिमराको बढ्दो ट्राफिक जाम पनि कम हुने बराल बताउँछन्।

नेपालगन्जबाट इन्ट्री पाएको अवस्थामा उच्च तहबाट आएको जहाज विस्तारै–विस्तारै उचाई घटाउँदै पोखरा, भैरहवा, काठमाडौं र निजगढमा अवतरण गर्ने सकिने उनको भनाइ छ। अहिले सञ्चालनमा रहेको सिमरा विन्दुको तुलनामा नेपालगन्ज प्रवेश विन्दुबाट काठमाडौं आउदा १४ नटिकल माइल, भैरहवा आउन एक सय ६९ नटिकल माइल र पोखरा जान एक सय ६५ नटिकल माइल दूरी कम पर्ने बराल बताउँछन्। सोही कारण नेपालले अन्य प्रवेश विन्दु भन्दा नेपालगन्ज प्रवेश विन्दुलाई नै प्राथमिकतामा राख्नु पर्छ।

नेपालगन्जबाटै दिन नमिल्ने हो भने पश्चिम तिरको अर्को कुनै इन्ट्री विन्दुका लागि भारतीय पक्षसँग छलफल हुने उनको भनाइ छ। तर, भारतीय पक्षले यो क्षेत्रमा आर्मीको वेस क्याम भएका कारण रुट किचलो गरिरहेको छ। तर, नेपाली पक्षबाट त्यही आकाश कहिले सिभिलले प्रयोग गर्ने र कहिले आर्मीले प्रयोग गर्ने गरी प्राविधिक उपाय अपनाएर नेपालगन्ज विन्दु पाउनुपर्ने माग रहेको बराल बताउँछन्।

यसैगरी नेपालले महेन्द्रनगर विन्दुबाट पनि प्रवेश माग गरिरहेको छ। यो विन्दु पाएको अवस्थामा पश्चिम तथा युरोपका देशबाट आउने जहाजले सीधै नेपाल प्रवेश पनि गर्न सक्ने उनको भनाइ छ। साथै यही रुट हुँदै नेपालबाट हङकङ, कोरिया जाने जहाजलाई पनि दूरी कम हुन्छ।

यसबाट नेपाली आकाश प्रयोग गरेबापत नेपाललाई पनि केही आम्दानी हुन्छ। अहिले पश्चिमका युरोपबाट आउने जहाजले भारतीय आकाश फन्को मार्दै पूर्व जाने गरेका छन्। अहिले महेन्द्रनगर विन्दु बाहिरिनका लागि मात्रै छ।

‘नयाँ हवाई प्रवेश विन्दुका विषयमा हामीलाई भारतीय पक्षले छलफलमा बोलाएका थिए’, बरालले भने, ‘निर्वाचन आचारसंहिताका कारण हामी छलफलमा जान सकेनौं। भारतीय पक्ष भैरहवा, जनकपुर र विराटनगरको प्रवेश विन्दुका बारेमा लचक रहे पनि नेपालगन्जको प्रवेश विन्दुमा सकारात्मक नरहेको प्राधिकरणले जनाएको छ। पश्चिमतर्फबाट आउने जहाजका लागि सबैभन्दा उपयुक्त विन्दु नेपालगन्ज नै हो।

भरैहवाबाट प्रवेश विन्दु हुँदै नेपाल प्रवेश गर्दा जहाज धेरै उचाईबाट आउनुपर्ने हुन्छ। पोखरालगायत अन्य विमानस्थमा जान उचाई कम गर्न धेरै दूरी आवश्यक पर्छ। यसका कारण भैरहवा विन्दु र सिमरा प्रवेश विन्दुमा खासै फरक नपर्ने बरालको भनाइ छ। तर, सिमरा विन्दुको तुलनामा भैरहवा विन्दुबाट प्रवेश पाउँदा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थ आउने जहाजका लागि एक सय ६५ नर्टिकल माइल र पोखरा आउने जहाजका लागि एक सय नर्टिकल माइल दूरी कम पर्न जान्छ। यसैगरी पूर्वबाट आएका जहाजको हकमा जनकपुर प्रवेश विन्दु सबैभन्दा उपयुक्त हो।

तर, जनकपुरको विकल्पमा विराटनगर प्रवेश विन्दु पनि नेपालका लागि सहज हुने उनको भनाइ छ। पूर्वबाट आएका जहाजले सिमराबाट प्रवेश गरी काठमाडौंका अवतरण गर्दाभन्दा विराटनगरबाट आएर काठमाडौंका अवतरण गर्दा १६ नर्टिकल माइल दूरी कम पर्न आउँछ। यसको फाइदा एयरलाइन्स कम्पनीलाई हुन्छ।

यसैगरी हामीले मेची प्रवेश विन्दु हुँदै पश्चिमबाट आएका जहाजलाई त्यहाँबाट बाहिर पठाउन सकेको अवस्थामा नेपालको पर्यटन क्षेत्रमा समेत फाइदा हुने हुने बराल बताउँछन्। पूर्वको प्रवेश विन्दुको हकमा जनकपुर विन्दु दिँदा सिमरा प्रवेश विन्दु दिन नसकिने भारतीय पक्षको भनाइ छ। जनकपुरबाट प्रवेश विन्दु पाएको अवस्थामा सिमरा विन्दुको ट्राफिक जाम पनि कम हुने बराल बताउँछन्। अाजकाे अन्नपूर्ण पाेष्टमा उत्तम काप्रीले लेखेकाे याे खबर छापिएकाे छ ।

तर, भारतीय पक्षले दुवै प्रवेश विन्दुलाई कायम राख्दा आफ्नो एयर स्पेसमा जहाजको ‘सेपरेसन’ पुग्दैन र सुरक्षामा असर पुग्ने बताइरहेका छन्। यस विषयका भारतीयभन्दा पनि नेपालीतर्फबाट बढी तोकता गर्नुपर्ने बराल बताउँछन्। नयाँ हवाई प्रवेश विन्दुको आवश्यकता हाम्रो हो। यो बाध्यता हामीलाई नै छ। भारतीय पक्ष पनि सकारात्मक रहेको अवस्थामा नै नयाँ प्रवेश विन्दुको विषयमा टुंगो लगाउनुपर्ने उनको भनाइ छ।