काठमाडौं, ९ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी र राजनैतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिन माग माग गरेको छ ।
मंगलबार सभापति शेरबहादुर देउवा निबास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकले सोमबार जारी दुबै अध्यादेश फिर्ता लिन माग गरेको हो । बैठकले सरकार ल्याएको अध्यादेशको भत्र्सना र खेद व्यक्त गर्दै फिर्ता लिन माग गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
बैठकले लोकतान्त्रिक संविधानलाई असफल बनाउने षड्यन्त्र गरिनुलाई कम्युनिष्ट सरकारको नियोजित नियत ठहर गर्दै एक्यवद्ध ढंगले यसको प्रतिवाद गर्न अपिल पनि गरेको छ । कतिपय महत्वपूर्ण संवैधानिक नियुक्तिमा साझा स्वामित्व बोधको परिकल्पनाका साथ संविधानले बिशिष्ट ब्यवस्था गरेको भएपनि नयाँ अध्यादेशले संविधानको मर्म र भावना एवं परिषदको गरिमामय भूमिकालाई समाप्त गरेको बैठकले ठहर गरेको छ ।
प्रवक्ता शर्माले अध्यादेशका बारेमा बैठकमा आन्तरिक परामर्श गरिएको र कांग्रेसले चाल्ने आगामी कदमका बारेमा बुधबार सार्वजनिक गरिने बताउनुभयो । सरकारको पछिल्लो कदमका बारेमा छलफल गर्न कांग्रेसले मंगलबार बिहान सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आकस्मिक रुपमा पदाधिकारी बैठक बोलाएको थियो ।