

काठमाडौं, ७ वैशाख । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गएको चैत्र ११ गतेदेखि गरेको लकडाउन जारी छ । लकडाउन घोषणा गरेयता दैनिक जीवन र सामाजिक क्रियाकलाप ठप्प छ ।

लकडाउनको अवस्थामा भने अत्यावश्यक काम र सेवा भने रोकिएको छैन । काठमाण्डौका केही क्षेत्रमा पुग्दा नागरिकहरुले लकडाउनको पालना गरेको पाइएको छ । केही स्थानहरुमा सर्वसाधारण अत्यावश्यक सामग्री खरिद गर्न घर नजिकको पसलमा पुगेको देखिन्थ्यो ।

यस्तै काठमाडौं महानगरपालिकाले नगर सफाइको कामलाई निरन्तरता दिइरहेको थियो । सुरक्षा निकायका अधिकारीहरु सुरक्षा जाँच गर्न, लकडाउन पालना गराउन सडकका चोकहरुमा खटिएका थिए । यस्तै अत्यावश्यक सेवाका सवारीसाधन भने सहजै गुडिरहेका थिए ।

यस्तै विभिन्न चोकहरुमा घुम्दै नेपाल प्रहरीको मोबाइल भ्यानले सर्वसाधारणलाई माइकिङ गरेर घरमा बसेर सावधानी अपनाउन आग्रह गरिरहेको छ । नेपाल सरकारले वैशाख ३ गतेसम्मको लकडाउनको अवधि बढाएर वैशाख १५ गतेसम्म पुर्याएको छ । नेपालमा अहिले कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ३१ पुगेको छ । सङ्क्रमितमध्ये तीन जना उपचारपछि निको भएर घर फर्किएका छन् भने बाँकी २८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।