काठमाडौं, ३ वैशाख । कोरोना भाइरसको नियन्त्रणका लागि लकडाउन सुरु भएको २३ औं दिन पनि काठमाडौं उपत्यका लगायत मुलुकभर सुनसान छ । सरकारले लकडाउनको पूर्ण रुपमा पालना गराउन सुरक्षा संयन्त्रहरुलाई परिचालन गरेको छ ।
खासगरी काठमाडौं उपत्यकामा मंगलबार दुई जनामा संक्रमण फेला परेपछि झनै त्रास फैलिएको छ । जसका कारण पनि मानिसहरु बाहिर निस्किएका छैनन् । यसअघि फाट्टफुट्ट रुपमा सडक पेटीमा देखिने मानिसहरु बुधबार देखिएका छैनन् ।
कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै बुधबार सम्म कायम गरिएको लकडाउनलाई मंगलबार नै सरकारले १२ दिन समय थप गरी वैशाख १५ गते सम्म लम्ब्याएको छ ।
यस्तै प्रशासनले पास वितरणमा समेत कडाई गरेको छ । सडकमा अत्यावश्यक सामग्रीको ढुवानी गर्ने र अत्यावश्यक काम पर्नेहरुका साधनहरु फाट्टफुट्ट चलेको देखिन्छ ।
पासको माग अत्यधिक बढ्नुका साथै भीडभाड बढेकोले लकडाउनसमेत उल्लंघन हुने अवस्था भएकाले बुधबारदेखि पास वितरण कार्य बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले सूचनामा बताएको छ। ‘वैशाख ३ गतेदेखि आफ्नो परिवारको सदस्यको मृत्यु संस्कारमा जाने व्यक्तिहरुलाई बाहेक अन्य प्रयोजनका लागि सवारीपास जारी नहुने व्यहोरा जानकारी गराइन्छ।’ सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवालद्वारा जारी विज्ञप्तिमा भनिएको छ। प्रहरीले चोकचोकमा बसेर ती साधनहरुको नियमित चेकजाँच गरिरहेको छ ।