कोरोनाविरुद्ध सरकारकाे ‘सिक्स टी’ रणनीति

कोरोनाविरुद्ध सरकारकाे ‘सिक्स टी’ रणनीति

काठमाडौँ, २ वैशाख । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणको रणनीतिलाई थप परिमार्जित गर्दै ‘सिक्स टी’ रणनीति अगाडि सारेको बताउनुभएको छ ।

मन्त्री ढकालले नयाँ वर्षको उपलक्ष्यमा सोमबार शुभकामना दिनुहुँदै कोरोना नियन्त्रणका लागि ट्राभल रेस्ट्रिक्सन, टेस्टिङ, ट्रेसिङ, ट्रयाकिङ, ट्रिटमेन्ट र टुगेदर रणनीति लिइएको जानकारी दिनुभयो । उहाँका अनुसार विदेशबाट नेपाल भित्रिएका व्यक्तिहरूको ट्राभल हिस्ट्रीसहित अनिवार्य क्वारेन्टाइनमा राख्ने, उनीहरूको नमुना परीक्षण गर्ने, सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएकाहरूको खोजी गरी परीक्षणको दायरामा ल्याइने छ ।

त्यसैगरी सम्भावित सङ्क्रमित आवतजावत भएको स्थानको यकिन गरी आइसोलेसनमा राख्ने र अनुगमन गरिने छ । त्यस्तै, सङ्क्रमितको उपचार गर्ने र कोरोना सङ्क्रमणको सम्भावित महामारी रोक्न सबै क्षेत्रसँग समन्वय गरेर अगाडि बढ्ने रणनीति लिइएको मन्त्री ढकालले जानकारी दिनुभयो । वर्तमान चुनौतीको सामना सबै एकजुट भएर मात्र गर्न सकिने बताउँदै उहाँले कोरोना सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि सकारात्मक र रचनात्मक भूमिकाको अपेक्षा गर्नुभयो ।