काठमाडौं, १ वैशाख । कोरोना भाइरस (कोभिड १९) बाट अर्थतन्त्रमा परेको प्रभाव र सरकारले लिनुपर्ने अर्थनीतिबारे सुझाव दिन कांग्रेस नेता एवं पूर्व उद्योगमन्त्री नविन्द्रराज जोशीको संयोजकत्वमा विज्ञहरु सम्मिलित अध्ययन समिति गठन भएको छ ।
सोमबार गठन गरिएको समितिले लकडाउनका बेला राहत वितरण, सरकारले आर्थिक प्रवद्र्धनको प्याकेजको घोषणा, कोरोनाबाट प्रभावित क्षेत्रको अध्ययनका साथै सरकारले लिनुपर्ने आर्थिक नीतिबारेमा सुझाव दिने बताइएको छ ।
गणेशमान सिंह फाउण्डेसनले गठन गरेको समितिमा संयोजक जोशीसहित राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरु पृथ्वीराज लिगल, डा. जगदीश चन्द्र पोख्रेल, प्रा. डा. गोविन्द राज पोख्रेल, डा. स्वर्णिम वाग्ले सदस्य छन् । त्यस्तै आयोगका पूर्वसदस्य प्रा.डा. पुष्कर बज्राचार्य, डा.अरविन्द मिश्र, त्रिभुवन विश्वविद्यालयका प्रा. डा. विजया श्रेष्ठ, गणेशमान सिंह अध्ययन प्रतिष्ठानका डा.दधि अधिकारी, नेपाल ट्रेड यूनियन काँग्रेसका बरिष्ठ उपाध्यक्ष महेन्द्र यादव र उपप्राध्यापक वसन्ती आचार्य समितिको सदस्यमा छन् ।
समितिले कोरोना संक्रमणको कारणले सबैभन्दा बढि असर परेका भौगोलक क्षेत्र तथा सबैभन्दा बढि पीडित जनसमुदायको पहिचान तथा आगामी आर्थिक कार्यदिशाका बारेमा पनि सुझाव पेश गर्ने संयोजक जोशीले बताए । जोशीका अनुसार बैसाख १ गतेदेखि समितिले काम सुरु गरेको र ३ हप्ता भित्र अध्ययन समाप्त गरी सरकारलाई प्रतिवेदन बुझाउनेछ ।
समितिले आवश्यक सल्लाह र सुझाव प्रदान दिन आमनगारिकलाई पनि आग्रह गरेको छ । विश्वव्यापी रुपमा कोरोना संक्रमित तथा यसबाट मृत्यू हुनेको संख्या लगातार बढि राख्दा नेपालमा संक्रमितको संख्या कम र स्थिर हुनु संतोषको विषय भएको पूर्वमन्त्री जोशीले बताए । ‘तर संक्रमण फैलन नदिन गरिएको बन्दाबन्दीको आर्थिक र सामाजिक प्रभाव भने उच्च संख्यामा संक्रमित भएका देशको जत्तिकै नेपालमा पनि परेको छ,’ उनले भने, ‘विगत तीन हप्ता देखिको लकडाउनले आर्थिक गतिविधि लगभग शून्य छ । त्यस भन्दा अघिदेखि बन्द गरिएका अन्तर्राष्ट्रिय उडान र अन्य निवारक क्रियाकलापले अर्थतन्त्रका सबै क्षेत्र प्रभावित भएका छन् ।’
उनले कोरोनाको कारणले गरिब र दैनिक ज्यालादारीमा जीवनयापन गर्ने व्यक्तिहरु प्रभावित भएकाले तत्काल उनीहरुका लागि राहत आवश्यक रहेको बताए । त्यस्तै कोरोनाबाट पर्यटन, बैदेशिक रोजगार र उद्योग क्षेत्र प्रभावित भएको समिति संयोजक जोशीले बताए । ‘पर्यटन आवागमनमा सुचारु अहिले मात्र होइन निकट भविष्यमा पनि हुने देखिदैन । उद्योग धन्दा बन्द छ । तर यी दुवै क्षेत्रको ठूलो स्थिर लागत छ,’ उनले भने, ‘यदि यो स्थिर लागतलाई व्यवस्थित गर्न नसक्ने हो भने कोरोनाको कारणले धेरै होटेल, रिसोर्ट, रेस्टुरेन्ट, र उद्योग बन्द हुनेछन् ।’