काठमाडौं, ३० चैत । कोरोना भाइरसको महामारी रोकथामका लागि अहिले देश लकडाउनमा रहेको छ । लकडाउनसंगै बिरामीको उपचारका लागि रगतको कमी हुन थालेको छ ।
यस्तो अवस्थामा रगतको अभावमा कोही पनि बिरामीको ज्यान नजाओस् भन्ने उद्देश्यले मिरमिरे युवा समाज सिनामंगल ९ ले रक्तदानको आयोजना गरेको छ ।
नोबेल अस्पताल सिनामंगल र नोबेल ब्लड बैंकको समन्वयमा समाजले रक्तदानको आयोजना गरेको हो । नोबेल अस्पताल सिनामंगलमा आयोजना गरिएको रक्तदानमा स्थानीय युवाको बाक्लो उपस्थित रहेको मिरमिरे युवा समाजका अध्यक्ष दिनेशबिक्रम शाहले जानकारी दिनुभयो । कार्यक्रममा ६५ जनाले रक्तदान गरेको अध्यक्ष शाहले बताउनुभयाे ।
कोरोना संक्रमण फैलिन नदिन करिब १ मिटरको दूरी र हरेक रक्तदाताको स्वास्थ्य अवस्था परीक्षण गरेर मात्रै रगत लिएको पनि शाहले बताउनुभयो । यो अभियानलाई बृहत तरिकाले लैजाने र कुनै अस्पतालको कुनै बिरामीले रगतको अभावमा ज्यान गुमाउन नपरोस् भनेर यो अभियानको सुरुवात गरेको नोबल अस्पतालका संचालक सदस्य सन्तोष न्यौपानेले बताउनुभयाे ।