लकडाउन तत्काल नहट्ने, सीमा नाकामा अझ कडाइ गरिनेः प्रधानमन्त्री {भिडियाे}

लकडाउन तत्काल नहट्ने, सीमा नाकामा अझ कडाइ गरिनेः प्रधानमन्त्री {भिडियाे}

काठमाडौं, २९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन छिट्टै अन्त्य नहुने र सीमा नाकामा अझ कडाइ गरिने बताउनुभएको छ । शनिबार सिंहदरबारमा सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग भिडिओ कन्फ्रेन्समा प्रधानमन्त्री ओलीले कोरोना भाइरसको संक्रमण फैलिन नदिन सामाजिक दूरी कायम गर्नुको अर्काे विकल्प नै नरहेको स्पष्ट पार्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

सरकार प्रभावकारी र सफल रूपमा कोभिड–१९ रोकथामका केन्द्रित रहेको बताउँदै प्रधानमन्त्री ओलीले अनावश्यक भ्रम र दुष्प्रचार गर्ने तत्वहरूबाट प्रभावित नहुन आग्रह गर्नुभयो । उहाँले अहिलेसम्मका प्रयासहरू सकारात्मक नै रहेको र यसलाई अझ समन्वयात्मक ढंगले अघि बढ्न जरूरी रहेको बताउनुभयो ।

कोरोना भाइरसको संक्रमणको नियन्त्रण र यसको अन्त्य गरिसक्दासम्म मुलुकको स्वास्थ्य उपचारको क्षेत्रले गुणात्मक फड्को मार्ने, प्रयोशाला, उपकरण र स्वास्थ्य सामग्री तथा दक्ष जनशक्तिको व्यवस्थापनमा विशेष प्रगति हासिल भइसक्ने पनि प्रधानमन्त्री ओलीले आश्वस्त पार्नुभएको सल्लाहकार थापाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले करीब चार घण्टा मुख्यमन्त्रीहरूसँग भिडिओ कन्फ्रेन्समार्फत् छलफल गर्नुभएको थियो । छलफलका क्रममा सात वटै प्रदेशका मुख्यमन्त्रीहरूले आ–आफ्नो प्रदेशमा कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारको क्रममा गरिएका प्रयासको जानकारी गराएको थापाले बताउनुभयो ।

भिडियाे हेर्नुहाेस्