

काठमाडौं, २८ चैत । विश्वका शक्तिशाली मुलुकलाई समेत हल्लाइरहेको कोरोना भाइरसको सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि नेपालमा पनि सरकार र सम्बन्धित पक्षबाट उच्च प्राथमिकताका काम भइरहेका छन् । सरकारले रोकथामकै लागि यही चैत ११ लकडाउन जारी गरेको छ भने सीमानाका र हवाईमार्गबाट आवागमन बन्द गरेको छ । भाइरससँग जुध्ने यस मोर्चाको अग्रपङ्तिमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी रहेका छन् । स्वास्थ्य क्षेत्रको अभिभावकीय भूमिकामा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनशक्ति परिचालन, अस्पतालहरुको पूर्वाधार र व्यवास्थापन, सामग्री व्यवस्थापन, जनचेतना र सूचना सम्प्रेषणका कामको अगुवाइ गरिरहेको छ । राष्ट्रिय समाचार समिति (रासस) का लागि बिहीबार बिहान रामशाहपथस्थित सो मन्त्रालयको कार्यकक्षमा पुग्दा मन्त्री भानुभक्त ढकाल विज्ञसहितको ‘हाइकमाण्ड’को नियमित समीक्षा सकेर प्रदेश र जिल्लास्तरको रोकथाम र उपचारको सूचना सङ्कलन गर्दै हुनुहुन्थ्यो । अत्यावश्यक र अपुग स्वास्थ्य सामग्रीको आपूर्तिमा समेत यसरुपमा कार्यरत मन्त्रालयको समग्र रोकथामको पहल, स्वास्थ्य सेवा, व्यवस्थापन र आगामी रणनीतिबारे मन्त्री ढकालसँग राससका समाचारदाताद्वय प्रकाश सिलवाल र शरद शर्माले गरेको कुराकानीको सम्पादित विवरण :
चीनमा कोरोना भाइरसको सङ्क्रमण देखिएको सय दिन पुगेको छ । नेपालमा पनि यो सङ्क्रमण समुदायस्तरमा अर्थात् दोस्रो चरणमा प्रवेश गरेको छ । तपाईँले भन्नुपर्दा अहिले यस सङ्क्रमणको अवस्था कस्तो छ ?
हामीले शुरुमा यो रोगलाई नेपाल प्रवेशमा निषेध गर्नाका साथै यसविरुद्ध जनचेतना जागरणको माध्यमबाट रोकथाम अपनाएका थियौँ । विदेशबाट आएकालाई क्वारेन्टाइन र होम क्वारेन्टाइनमा बस्न अपिल गरेका थियौँ । सङ्क्रमण भएको अवस्थामा अस्पतालमा लगेर परीक्षण र उपचार गर्ने हाम्रो योजना थियो । यसको स्थिति भयावह हुन नदिन पहल गर्ने र भएमा त्यसको सामना गरी क्षतिलाई न्यून गर्न अधिकतम प्रयत्न गर्ने योजना थियो । चैत २७ गतेसम्मको स्थिति भन्नुपर्दा हामीले सङ्क्रमणलाई नौ जनासम्ममा सीमित गर्ने सफलता प्राप्त गरेका छौँ । तीमध्ये एकजना निको भएर फर्कनुभएको छ भने आठ जना उपचारमा हुनुहुन्छ । उहाँहरुको स्थिति पनि सामान्य दिशातर्फ उन्मुख रहेको पाइएको छ । यसको एउटा दुःखद पक्ष नेपाली भूमि नछाडेका एकजनामा पनि पोजेटिभ देखिएको छ । यसबाट ग्रिनबाट अर्काे माथिल्लो चरणमा हामीलाई लगेको छ । त्यसैले अब थप सावधानी र सतर्कता अपनाउनुपर्छ । हिजोकै योजना र कामको आधारमा मात्रै यसलाई रोकथाम गर्न सकिँदैन भन्ने निष्कर्षमा हामी पुगेका छौँ ।
लकडाउन जारी भएको दुई साता बितिसकेको छ । यो बाध्यकारी अवस्था हो । यतिबेला कोरोनाविरुद्ध विजय हासिल गर्ने मुख्य हतियार वा माध्यम लकडाउन देखिएको विश्वव्यापीकै अनुभवले देखाएको छ । अब नेपालमा भाइरसको रोकथामको थालनी हुँदाका बखत हामीसँग परीक्षण गर्ने स्थान थिएन । टेकुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले यसको परीक्षण थाल्यो । अहिले हामीले मुलुकका १० स्थानमा परीक्षण सेवा शुरु गरेका छौँ र यसलाई अझ बढाएर १५ स्थानमा लाने तयारीमा छौँ । शुरुका दिनमा न्यून सङ्ख्यामा परीक्षण भएकामा अहिले यसको दायरा बढेको छ । अहिले हवाइमार्गबाट सङ्क्रमण आउने स्थिति नभए पनि दक्षिणी छिमेकी मुलुकको सीमाबाट आउनेहरुमा यसको जोखिम देखिएको छ । ती ठाउँमा सेनाको हेलिकोप्टर पठाएर नमूना सङ्कलन गरी परीक्षण आरम्भ गरेका छौँ । शुरुआतमा स्वास्थ्य सामग्री नहुँदा युद्धका कमाण्डरहरुलाई बिनाहातहतियार पठाउनुपर्छ कि भन्ने भयको अवस्थालाई समाधानउन्मुख बाटो तय गरी हामीले सामानको प्रबन्ध गर्न थालेका छौँ । त्यसकारण यी सबै प्रबन्धबाट असहज स्थिति आउन सरकारले दिँदैन । हिजोका भन्दा हामी अहिले ठिक ठाउँमा छौँ । आगामी दिनमा अझ बढी सामान, औषधिको सुनिश्चितताका लागि हामी लागिरहेका छौँ । कतिपय सरकारी र निजीस्तरमा के गर्ने/नगर्ने भन्ने सवालमा देखिएको अन्योललाई चिरेर एकरुपता कायम गर्ने काममा पनि हामी लागेका छौँ ।
भाइरसको दोस्रो चरणमा प्रवेशसँगै हामीले परीक्षण त बढाउँदैछौँ, तर यो न्यून सङ्ख्यामा भएको भन्ने गुनासो छ । के अब हामी रणनीति परिवर्तनमा लागेका हौँ ?
सामान्यत सबै ठाउँमा र त्यसमा पनि हाम्रो नेपालमा केही व्यक्तिहरुमा कुण्ठा र असन्तुष्टि पोख्ने र त्यसबाट आत्मरति लिने प्रवृत्ति छ । अप्ठ्यारो परिस्थितिमा कसरी पार पाउने भनेर काम गर्ने भन्दा पनि खुट्टा तान्ने प्रवृत्तिबाट हाम्रो मानसिकता माथि उठ्न सकेको छैन । आम नेपालीको त हामीलाई साथ छ । यस क्षेत्रमा काम गर्ने चिकित्सक, नर्सलगायतले हामीलाई सहयोग गरिरहनुभएको छ । हामीलाई राजनीतिक दलहरुले सरकारसँग साथमा छौँ भनिरहेका छन् ।
अब आलोचनाका कुराहरु स्वभाविकरूपमा आफ्नो ठाउँमा हुन्छन् । ती आलोचना कति जायज र निराधार छन् भन्ने कुरा समयले त्यसको यथोचित सबैलाई जवाफ दिने नै छ । हिजो हामीले विदेशबाट आएका सबै नागरिकलाई सेल्फ क्वारेन्टाइनमा बस्न, सम्पर्कमा रहन र बिरामी भए अस्पतालमा जान आग्रह ग¥यौँ । । पोजेटिभ देखिएमा सरकारले उपचार गर्छ भन्यौँ । मैले ती नागरिकलाई क्वारेन्टाइनमा बस्न आग्रह गर्दा स्वास्थ्यमन्त्रीले एउटा अपराधपूर्ण अभिव्यक्ति दियो कि भनेर साता पन्ध्र दिन निदाउने व्यक्ति पनि नेपालमा काफी पाएँ मैले । तर त्यसमा मलाई कुनै पीर छैन । म जुन जिम्मेवारीमा छु, देखेको कुरा निष्ठा र इमानका साथ भन्ने हो । यो जोखिमबाट मुलुकलाई कसरी पार लगाउने भन्नेमा सम्माननीय प्रधानमन्त्री हुनुहुन्छ । उपप्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय समन्वय समिति छ । मेरो नेतृत्वको सिङ्गो स्वास्थ्य मन्त्रालयले काम गरिरहेको छ । हामी सबै आफ्नो ठाउँबाट रोकथाममा लागिरहेकै छौँ ।
अहिले विदेशबाट आएकाहरु साथै उहाँहरुको सम्पर्कमा रहेकाहरुलाई पनि परीक्षण गर्न थालेका छौँ । हामीले जोखिमयुक्त ठाउँबाट आएका नेपालीहरु जो हालसम्म स्वास्थ्य परीक्षण गराउनुभएको छैन, उहाँहरु र उहाँहरुले भेटेका व्यक्तिलाई पनि परीक्षणको दायरामा ल्याउँछौँ । सीमाबाट आएर क्वारेन्टाइनमा बसेकाहरुलाई पनि परीक्षणको दायरामा ल्याउँदैछौँ । यो जोखिमपूर्ण कामका लागि क्वारेन्टाइनको व्यवस्थापन, हेरचाह र उपचारमा संलग्न चिकित्सक, नर्स, एम्बुलेन्स चालक, सुरक्षाकर्मी, स्थानीय तहका जनप्रतिनिधिलाई हामी परीक्षण गर्छाैँ । हामीले ‘रियल टाइम पोलिमरेज चेन रियाक्सन’ (पिसीआर)का साथै अब रगतबाट जाँच गर्ने ‘¥यापिड डाइग्नोष्टिक टेष्ट’ (आरडिटी)को विधिबाट पनि गरी दैनिक ५०० को हाराहारीमा परीक्षण गर्न थालिसकेका छौँ । अझ यसको दायारा फराकिलो बनाउन हामीले दैनिक हजारभन्दा माथिको परीक्षण गर्नेछौँ । एकै क्वारेन्टाइनमा १० जनामा पोजेटिभ देखिएका बाँकी ९० जनालाई फरक व्यवहार गरी १० जनालाई अस्पताल ल्याएर उपचार गराउने गरी हामीले तम्तयारी गरेका छौँ ।
हामीले परीक्षणको दायारा बढाउन जनशक्ति र सामग्रीको अभाव हुन दिइन्न भन्नेमा छौँ । अब गरिएका कामप्रति टीकाटिप्पणी गर्नका लागि अहिले उपयुक्त मौसम छ । कुराको खाँचो त कसैलाई हुँदैन । लकडाउन छ, विश्वभरि कोरोनाकै कुरा छ । सकारात्मक सोच भएकाले समाधानका लागि सकारात्मक उपाय सुझाउनुहुन्छ । नकारात्मक सोच हुनेले केही न केही गरेर दिन बिताउने क्रममा नकारात्मक कुरा गरेर तीर कसरी उध्याउने भनेर सोच्नुहुन्छ र हान्नुहुन्छ, त्यो कति लाग्छ कति लाग्दैन । अहिले विश्वका शक्तिसम्पन्न मुलुकले जे समस्या भोगिरहेका छन्, मानिसहरुले यो भाइरसका कारण दोस्रो विश्वयुद्धपछिको भन्दा पनि धेरै जोखिम र भयावह स्थितिमा लग्दैछ भन्दैछन् । भनेपछि यो कुनै मजाकको अवस्था होइन । हामीले सञ्चारमाध्यमबाटै थाहा पायौँ कि अरुले किनिसकेको र लोड गर्न लागेकोे सामान चार गुणा बढी मूल्य तिरेर अमेरिकाले लग्यो । त्यहाँ सामान कसरी लगेर मानिसको जीवनरक्षा गर्ने भन्ने हुन्छ । त्यसकारण जीवन रक्षाका लागि र रोग विस्तार हुन नदिनका लागि सबैको सहभागितामा अहोरात्र खट्न र राज्यको सम्पूर्ण शक्ति लगाएर हामी भाइरसलाई विस्तार हुन नदिने प्रयासमा छौँ । कथंकदाचित स्थिति काबुबाहिर गएमा कसरी कम क्षति गराउने भन्ने योजनामा हामी छौँ । यो योजना र तयारीलाई हामीले एशियाका १० मुलुकका मन्त्रीहरुसँगको हालैको भिडियो कन्फरेन्समा छलफल हुँदा यस क्षेत्रमा हाम्रो तयारी सन्तोषजनक नै पाएका छौँ । हामीले गरेको कामको अन्तर्राष्ट्रियरूपमा प्रशंसा पनि भइरहेको छ ।
नेपालमा जोखिम बढेर माहामारीकै स्थिति भएमा रोकथाम र उपचारका लागि कस्तो तयारी छ त ?
हामीले विश्व परिवेश र हाम्रो भूगोलका आधारमा पछिल्ला दिनमा आफ्नो तयारीलाई थप सुव्यवस्थित गरेका छौँ । कोरोना डेडिकेटेड अस्पताल घोषणा गरेका छौँ । प्रदेश अस्पतालहरु तय गरेका छौँ । अन्य ठाउँमा पनि परीक्षणको व्यवस्था भएको छ । हामी जोखिम बढेमा यसरी समाधान गर्न सकिन्छ भन्ने योजनाबद्धरुपमै लागेका छौँ । अब कतिपय व्यक्तिलाई यो रोग त्यसै रोकिएको छ भन्ने लागेको छ । ठिकै छ, त्यसै रोकिए पनि वा हामी सबैको साझा पहलले रोकिए पनि रोग नफैलने सुनिश्चितताका लागि लागौँ, त्यो हामी सबैको सफलता हुन्छ ।
मैले के पनि भन्दै आएको छु भने यो भाइरसको कुनै जात, धर्म, लिङ्ग, क्षेत्र, पेशा, भूगोल र सीमा छैन । यसले कुनै दल वा वर्ग पनि भन्दैन । यो हामी सबैको साझा शत्रु हो । शत्रु त बरु कतिबेला कति शक्तिका साथ आयो भन्ने देख्न सकिन्छ । यो रोगसँग त देखिएर लड्ने स्थिति छैन । यो रोग त निराकार छ । हामी यसको विरुद्ध लाग्दालाग्दै तपार्ईं हामीलाई पनि जोखिम हुनसक्छ । यसरी अदृश्यरूपमा हामी लड्नुपर्नेछ । यो जोखिमबाट हार्ने स्वीकृति हामीलाई छैन । त्यसैले पहिला यसलाई सबै मिलेर परास्त गरौँ । नेपाली जनतालाई पहिला बचाऔँ, त्यसपछि हाम्रा राजनीति, विचार, आस्था आदिबारे बहस छलफल गरौँला ।
स्वास्थ्यकर्मीको सुरक्षा र सामग्रीको उपलब्धताबारे तपाईंले केही कुरा त गर्नुभयो तर यो प्रश्न अझै अहम्रुपमा हुँदै आएको छ । यसमा उत्प्रेरणाका कुरा पनि हुन सक्छन् । त्यसका लागि मन्त्रालय के गर्दैछ ?
पहिलो कुरा त, यस लडाइँमा युद्धको कमाण्डरहरु स्वास्थ्यकर्मीहरु हुनुहुन्छ । उहाँहरुको अगुवाइमा हामी यो लडाइँमा विजय प्राप्त गर्नुपर्छ भनेर लागिरहेका छौँ । उच्च मनोबल र अदम्य साहसका साथ उहाँहरु आफ्नो ज्यान जोखिममा राखेर लाग्नुभएको छ । उहाँहरुको सुरक्षा र उहाँहरुको अभिभावक राज्य हो भन्ने अनुभूति गराएका छौँ । हामीले १०० प्रतिशतसम्म सुविधा वृद्धि र स्वास्थ्यकर्मीका लागि रु २५ लाखको बीमा शुरु गरेका छौँ । प्रदेशस्तरमा पनि यसलाई प्रेरणाका रुपमा लिएर निर्णयहरु भएका छन् । यसैगरी रोकथाम र उपचार गर्ने ठाउँमा भय र अन्य अवरोध हुनसक्ने स्थितिलाई अन्त्य गराउने मन्त्रिपरिषद्बाट आवश्यक निर्णयहरु गरेका छौँ । हाम्रा यी सबै निर्णय, काम र प्रोटोकलबारे छिट्टै सार्वजनिक गर्न एक पुस्तिका प्रकाशन गर्दैछौँ ।
अहिले मन्त्रालयमा सरोकार भएका र विज्ञसहितको समिति बनाएका छौँ । समितिको सुझावका आधारमा सरकारी र निजी क्षेत्र एकैसाथ भएर माहामारीविरुद्ध काम गर्ने गरेका छौँ । यही चैत २६ गतेबाट दैनिक कार्ययोजना र समीक्षा तर्जुमाका लागि मन्त्री, सचिव र विज्ञसहितको हाइकमाण्डको हरेक दिन बिहान बैठक आरम्भ गरेका छौँ । त्यसकारण हामीले स्थितिको विश्लेषणका आधारमा काम गर्ने शैलीमा व्यापक परिमार्जन गरेका छौँ । जसरी भए पनि मुलुकलाई यसको भयावह हुन नदिइ स्थितिलाई नियन्त्रण गर्न लागेका छौँ । अहिले दुःख सहेर र सावधानी अपनाएर यसविरुद्ध विजय हासिल गरेमा हामीलाई गर्व गर्ने अवस्था हुन्छ । अहिले सावधानी अपनाइएन भने भोलि पश्चाताप गर्ने स्थिति हुनसक्छ । आम जनताबाट कष्ठ सहेर पनि यसमा साथ रहेको छ । त्यसकारण यो युद्धमा हामीले विजय प्राप्त गर्न सक्छौँ भन्ने लागको छ ।
निजी क्षेत्र र खासगरी औषधि उत्पादकहरुसँगको समन्वय पर्याप्त भएन भन्ने पनि आएको छ नि ?
अब सामान्य कामका लागि मन्त्रालय नै आउने कुरा सही होइन । हाम्रा सम्बन्धित निकायहरु छन् । सबै विषयमा मन्त्रीसहितको निर्णय खोज्ने वा मन्त्रीबाट तोक लगाएर सचिव हुँदै तल शाखामा पुगेर काम हुने प्रवृत्तिलाई म प्रोत्साहित गर्दिनँ । प्रणालीबाट काम गर्ने र समस्या भएमा माथि जाने स्थिति हुनुपर्छ । मैले मन्त्री भएको यो अवधिसम्म यो काम यसरी गर्नु भनेर तोक लगाएको छैन । तोक केवल औपचारिकताका लागि हुनु हुँदैन । तोक लगाएर पनि निवेदनलाई थन्क्याउने वा काम नहुने स्थिति हुनुहुँदैन । अब अप्ठ्यारो र विशेष स्थितिमा विधि फुकाउन वा कुनै पक्षको मुद्धा छिटो फुकाउनका लागि हामीले सहजीकरण गर्न सक्छौँ तर माथिबाट भन्नेबित्तिकै तल विधि मिचेर काम होस् भन्ने कुरलाई म प्रोत्साहन गर्दिनँ । विधि वा संयन्त्रमा समस्या छ भने फुकाउने काम हुन्छ । संयन्त्रमा खिया लागेको छ भने त्यसलाई उध्याएर तन्दुरुस्त राख्नुपर्छ ।
अर्काे कुरा, यो निजी र सरकारी भनेर सीमाङ्कन गराउने काम पनि उचित हुँदैन । माहामारी फैलिएमा के सरकारी, के निजी ? हामीले यो रोग फैलिएमा कसरी कहाँ–कहाँ क्रमशः उपचार गराउने भन्ने तय गरिसकेका छौँ । अहिले हामी कोरोना प्रतिरोधी भनेर स्थापित गरेका अस्पतालमा अरु बिरामी राख्दैनौँ । अहिले टेकु अस्पतालमा उपचार भइरहेको छ । त्यहाँ क्षमता नभएमा पाटन अस्पताल, त्यसपछि सशस्त्र अस्पताल, वीर अस्पताल वा त्रिवि शिक्षण अस्पताल होला । त्यसपछि ग्राण्डी वा मेडिसिटी वा अरु अस्पताल हुन सक्छन् । अब निजीले उपचार गर्नुपरेमा निःशुल्क वा कतà