काठमाडौँ उपत्यकामा रहेकालाई बाहिर पठाउने निर्णय उल्टियो, भोलि र पर्सि उपत्यका बाहिर जान नदिइने

काठमाडौँ उपत्यकामा रहेकालाई बाहिर पठाउने निर्णय उल्टियो, भोलि र पर्सि उपत्यका बाहिर जान नदिइने

काठमाडौँ, २७ चैत । १७ दिनको लकडाउनमा काठमाडौँ उपत्यका भित्र अलपत्र परेकाहरुलाई शुक्रबार र शनिबार उपत्यका बाहिर जान दिने निर्णय एकाएक उल्टिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले काठमाडौं बाहिर जानेलाई तत्काल पठाउन नसकिने बताएका छन् ।

नेम्‍वाङले भने, ‘पर्याप्त स्रोत र साधन नभएकाेले तत्काल उपत्यकाबाट बाहिर कसैलाई पठाउन सकिँदैन।’

प्रदेश सरकारहरुले चर्को विरोध गरेपछि संघीय सरकार आफ्नो निर्णयमा २ घण्टा पनि टिक्न नसकेपछि काठमाडौंमा लकडाउनका कारण अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने निर्णय रद्ध भएको हो । गृह प्रशासनले पनि भोलि र पर्सि नै पठाउन सम्भव नभएको सल्लाह दिएपछि निर्णय उल्टिएको बुझिएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक तथा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसहित गृहमन्त्रीलगायतको छलफलले उपत्यकाका मानिसलाई बाहिर पठाउदा कोरोनाको थप जोखिम हुनसक्ने भन्दै बाहिर नपठाउने निर्णय गरेको हो । यसअघि सरकारले उपत्यकामा रहेका घर जान चाहनेहरुलाई बाहिर पठाउने निर्णय गरेको खबर सञ्चारमाध्यमहरुमा प्रकाशित भएकाे थियो ।