लकडाउनको अवधि बढेसँगै ट्राफिक प्रहरीको चेकिङमा पनि थप कडाइ (भिडियो)

लकडाउनको अवधि बढेसँगै ट्राफिक प्रहरीको चेकिङमा पनि थप कडाइ (भिडियो)

काठमाडौं, २७ चैत । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा लकडाउनमा थप कडाइ गरेको छ । कोरोना भाइरस (कोभिड १९) को महामारीको जोखिम बढिरहेका बेला सरकारले घोषणा गरेको लकडाउनको अवधि बढेसँगै ट्राफिक प्रहरीले थप कडाइ गरेको हो ।

अत्यावश्यक कामबाहेक एक स्थानीय तहबाट अर्को स्थानीय तहमा पुग्ने नाकाहरू, मुख्य सडकहरु तथा भित्री सडकहरूमा ट्राफिक प्रहरीले चेकजाँचमा थप कडाई गरेको छ । लकडाउनमा सञ्चालन भएका सवारीको गति बढी हुँदा सुरक्षाकर्मीलाई चेक गर्न समस्या परिरहेको छ ।

चेक गर्न समस्या भएपछि प्रहरीले अहिले बाटोमा थप चेक प्वाइन्ट बढाइएको छ । उपत्यकाभित्र ८ हजार भन्दा बढी ट्राफिक प्रहरी खटिएका छन्। उनीहरुले सडकमा गुड्ने सवारी अत्यावश्यक ढुवानीका लागि र सम्बन्धित प्रशासनबाट अनुमति लिएर चलाएको नचालएको अनुगमन गर्ने गरेका छन् । तर, यस्ता सवारीको गति बढी भएकाले प्रहरीको हातको इसारामा नरोकिँदा चेक प्वाइन्ट थप गर्नु परेको ट्राफिक महाशाखाले जनाएको छ ।

नक्कली पास बनाएर सवारी चलाउने, एउटा प्रयोजनमा लिएको पासको दुरुपयोग गर्ने, अनावश्यक रुपमा सवारीको प्रयोग गर्ने क्रम बढेपछि ट्राफिक प्रहरीले चेकिङ कडा बनाएको हो ।

भिडियाे हेर्नुहाेस्