काठमाडौं, २६ चैत । धुलो र हिलोले आक्रान्त बनेको काठमाडौंका सडकको स्वरुप फेरिन थालेको छ । लकडाउनमा पनि खाल्डाखुल्डी पुर्ने र मर्मतका कामले प्राथमिकता पाएपछि सडकको स्वरुप फेरिन थालेको हो ।
लकडाउनमा पेन्टिङ र मार्किङ तथा जेब्राक्रसहरु बनाउने कामले तिब्रता पाएको छ । बितेको तीन महिनामा काठमाडौंका मुख्य मुख्य सडकगरि साढे नौ हजार खाल्डाखुल्डी परिएका छन् ।
सडकमा आवागमन कम भएकाले विभागले रातमा गर्दै आएको काम दिउँसो नै गर्न सुरु गरेको छ । यसले मार्किङको काम गर्ने प्राविधिक कामदारहरुलाई पनि सहज भएको छ ।
काठमाडौं सडक डिभिजन कार्यालयका प्रमुख कुवेर नेपालीले यस्तो कामका लागि धेरै संख्यामा मजदुर नलाग्ने भएकाले कोभिड १९ विरुद्ध उनीहरुलाई सचेत बनाएर सावधानीसहित काम भइरहेको बताउनुभयो ।
सडक विभागले लकडाउन अघिसम्म काठमाडौंका विभिन्न सडकहरु कालोपत्रे गरेको थियो । आवधिक मर्मतलाई प्राथमिकतामा राखेको विभागले यस वर्ष काठमाडौंका सडकलाई विगतका वर्षमा भन्दा स्तरीय बनाएको छ । सडकको मार्किङलाई पनि प्रभावकारी बनाइएको छ ।