साउदी अरबमा चार नेपालीमा कोरोना सङ्क्रमण

साउदी अरबमा चार नेपालीमा कोरोना सङ्क्रमण

काठमाडौं, २४ चैत । साउदी अरबकाे स्वास्थ्य मन्त्रालयकाअनुसार चार जना नेपालीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न थप सावधानी अपनाउन त्यहाँकाे स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

साउदी अधिकारीहरुले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आइतबारसम्ममा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार तीन सय ८५ पुगेको छ । पछिल्लो ४८ घण्टामा तीन सय ४० भन्दा धेरैमा सङ्क्रमण देखिएको छ । राजधानी रियादमा मात्र आइतबार ६६ जनामा सङ्क्रमण देखिएको बताइएको छ ।

साउदी मन्त्रालयका अनुसार अहिलेसम्म सङ्क्रमितमध्ये चार सय ८८ जना निको भएका छन् । त्यस्तै आइतबार थप पाँच जनाको मृत्युभएसँगै मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको छ ।

साउदी अरबमा कोरोना भाइरसको सङ्क्रमण हरेक दिन बढ्दो क्रममा रहेको र नेपाली नागरिकहरुमा पनि सङ्क्रमण देखिएकोले महामारीबाट बच्न सावधानी अपनाउन नेपाली राजदूतावासले अनुरोध गरेको छ ।

साउदी अरबमा कोरोना संक्रमणको पछिल्लो अवस्था र अन्य जानकारी ।

१. साउदी स्वास्थ्य मन्त्रालयबाट प्राप्त जानकारी अनुसार ४ जना नेपालीमा कोरोना भाइरसको संक्रमण भएको छ । यस भाइरसको संक्रमणबाट बच्न थप सावधानी अपनाउनु आवश्यक भएको तर्फ सबैले गम्भीर ध्यान दिनु आवश्यक भएको छ ।

२. आज मिति २०७६।१२।२३ (अप्रिल ५, २०२०) मा साउदी अधिकारीहरुले जारी गरेको तथ्यांक अनुसार साउदी अधिराज्यमा कोरोना भाइरसबाट संक्रमितको संख्या २३८५ पुगेको छ । गएको करीब ४८ घण्टाको अवधिमा ३४६ जना भन्दा बढीमा संक्रमण भएको छ । राजधानी रियादमा मात्र आज ६६ जनामा संक्रमण भएको उल्लेख छ । कूल संक्रमितहरु मध्ये हालसम्म ४८८ जना निको भएका छन् । आज ५ जना संक्रमितहरुको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

३. साउदी अरबमा कोरोना भाइरसको संक्रमण हरेक दिन बढ्दो क्रममा रहेको एवं नेपाली नागरिकहरुमा पनि संक्रमण भएकोले यो महामारीबाट बच्न अत्यन्त सावधानी अपनाउनुहुन सम्पूर्णमा नेपाली राजदूतावास हार्दिक अनुरोध गर्दछ ।

४. कतिपय नेपालीहरुले कोरोना भाइरसको संक्रमण भइरहेको अवस्थामा पनि काम गरिरहनुपरेको गुनासो गरी टेलिफोन एवं पोष्टहरु गर्नुभएको छ । धेरै कम्पनीहरुले आफ्ना कम्पनीमा अत्यन्त न्यून जनशक्तिमा काम गराइहेका पाइएको छ भने कतिपय पूर्णरुपमा बन्द भएका छन् । अधिकांश कम्पनीहरुले सुरक्षाका अधिकतम उपायहरु अपनाएका जानकारीहरु पनि प्राप्त भएका छन् । तसर्थ, आफू कार्यरत कम्पनीमा उपलव्ध संक्रमण सम्बन्धी सुरक्षाका सबै उपायहरुलाई अनिवार्य रुपमा उपयोग गर्न र हेलचक्र्याई नगर्न अनुरोध छ ।

५. कृपया सावधानी र सचेतनाका सबै अनुभव र जानकारीहरु जतिसक्दो धेरैजना माझ पुर्याई एक अर्कालाई मद्दत गरौँ।

नेपाली राजदूतावास
रियाद
२०७६।१२।२३