गुल्मीका शंकास्पद् तीनै जनामा कोभिड-१९ संक्रमण पाइएन

गुल्मीका शंकास्पद् तीनै जनामा कोभिड-१९ संक्रमण पाइएन

गुल्मी, १५ चैत । गुल्मीमा विदेशबाट आएका तीन जनालाई रुघा–खोकी र ज्वरो आएका कारण कोरोना भाइरस संक्रमणको आशंका गरी बुटवल धागो कारखानाको क्वारेन्टाइनमा पठाइए पनि उनीहरु सुरक्षित रहेको पाइएको छ ।

उनीहरु मध्ये कसैलाई पनि कोरोना भाइरसको संक्रमण नभएको पाइएको गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिनुभयो ।

गुल्मीदरवार गाउँपालिकामा भारतको पुनाबाट घर आएका एक जनालाई ज्वरो आएर धागो कारखानाको क्वारेन्टाइनमा पठाइएको थियो । उनको ज्वरो कम भएर लुम्विनी प्रादेशिक अस्पतालमा उपचार गराइएको छ । उनमा पनि कोरोना भाइरसको संकमण देखिएको पाइएको छैन ।

सत्यवती गाउँपालिकाका एक जना पनि भारतबाट घर आएको र ज्वरो आएर धागोकारखानाको क्वारेन्टाइनमा पठाइएको थियो । उनमा पनि कारोना भाइरसको संक्रमण नदेखिएको र कालिगण्डकी गाउँपालिका हर्मीचौरका परियार थरका एक युवामा पनि त्यतो कुुनै संकेत नदेखिएको पनि प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनुभयो ।

प्रजिअ शर्माले शुक्रवार दिनैभर सदरमुकाम देखि गुल्मीको प्रवेशद्धार रिडीसम्म अनुगन गर्न पुगेको र नागरिकहरुले निषेधाज्ञाको पूर्णपालना गरिरहेको पनि बताउनुभयो । हेल्थ डेक्सहरु पनि सक्रिय रहेको उहाँको भनाइ छ ।

जिल्ला विपद् ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रजिअ शर्माका अनुसार हालसम्म गुल्मीमा ३ सय शैयाका ३६ स्थानमा क्वारेन्टाइनहरु निर्माण भइसकेको र वडा स्तरसम्म क्वारेन्टाइन निर्माण जारी छ । सत्यवती गाउँपालिकाले १० शैयाको आइसोलेशन कक्षसहितको ब्वारेन्टाइन निर्माण गरिएको छ ।

जोहाङ्ख प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरसहितको टोलीलाई त्यस आइसोलेशन कक्षमा राखिएको सत्यवती गाउँपालिका प्रमुख पारिश्वर ढकालले बताउनुभयो । उहाँले वडा स्तरसम्म क्वारेन्टाइन बन्दै गरेको जानकारी दिनुभयो ।

जिल्लाका अन्य पालिकाहरुले पनि क्वारेन्टाइन बनाउने कार्यलाई तीब्रता दिएका छन् । मालिका गाउँपालिकाले भारतबाट आएका १० जनालाई क्वारेन्टाइनमा राखेर स्वास्थ्य अवस्थाको बारेमा निगरानी गरिरहेको त्यस पालिकाका प्रबक्ता तथा वडाध्यक्ष शोभाखर गिरीले जानकारी दिनुभयो