काठमाडौं, १५ चैत । बेल्जियमबाट नेपाल फर्किएकी एक युवतीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। शनिबार बाग्लुङ नगरपालिकाकी २२ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या पाँच पुगेको छ।
उनी चैत ४ गते कतार एयरवेजको क्युआर ६५२ फ्लाइटबाट नेपाल आएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। त्यही विमानमा आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भएको १० चैतमा पुष्टि भएको थियो । त्यसपछि विमानमा सवार १५८ यात्रुको खोजी थालिएको थियो ।
त्यसक्रममा बागलुङ नगरपालिकास्थित आफ्नै घरमा रहेकी ती युवतीको धौलागिरी अस्पतालमा कोरोना भाइरस परीक्षणका लागि नमूना संकलन गरेर काठमाडौं ल्याइएको थियो। उनको अवस्था अहिले सामान्य छ । उनलाई बागलुङबाट काठमाडौँ ल्याउने तयारी गरिएको जनाइएको छ
कोरोना संक्रमितमध्ये दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र ३२ वर्षीय एक युवकको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। कोरोनाबाट संक्रमित एक युवक भने निको भएर घर फर्किसकेका छन्।
कोरोनाको जानकारी लिन मन्त्रालयले १११५ र ११३३ कल सेन्टर खुल्ला गरिएको मन्त्रालयले जनाएको छ ।